
अरबी पात्रो हिजरी संवत् अनुसार दशौँ महिना (सौवाल)को पहिलो दिन शनिबार देशभरका मुस्लिम समुदायले नमाज पाठ गर्नाका साथै आफ्नो ठूला बडाबाट आशीर्वाद लिएर ईदुलफित्र पर्व मनाउँदै छन् ।दशौँ महिनाको पहिलो दिन नमाज पाठ सकेपछि तीन दिनसम्म आफ्ना मान्यजनबाट आशिर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आशिर्वाद दिने र आशिर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मिठा खानेकुरा खान दिने चलन रहेको छ ।खुसीपूर्वक दान गरेर गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इदुलफित्र भनिएको हो । अरबिक पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इदुलफित्र मनाउने कार्यक्रम तय हुने भए पनि यसवर्ष शुक्रबार बेलुकी चन्द्रमा देखिएको आज यो पर्व मनाउन लागिएको हो ।अरबिक पात्रोअनुसार कुनै पनि महिना ३१ दिनको नहुने भएकाले सोमबार बेलुकी अर्थात् ३० औँ दिन चन्द्रमा नदेखिए पनि त्यसपछिको दिनलाई १०औँ महिना मानिन्छ । यो पर्वको अर्को उल्लेखनीय पक्ष गरिबलाई दान दिनु हो । यस पर्वमा मुस्लिम धर्मावलम्बीले एक वर्षभित्रको बचतको साढे दुई प्रतिशत नगद अथवा जिन्सी दान गर्नुपर्ने विधान धर्मग्रन्थ कुरान शरिफमा उल्लेख गरिएको छ ।यसरी दान गरिएको नगद वा जिन्सी गरिबलाई बाँडिन्छ । जसलाई जकात भनिन्छ । इदुलफित्रमा प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सो बराबरको नगद दान गर्छन् । जसलाई सत्कार फित्र भनिन्छ । यो दान आमाको पेटमा आएको बच्चाको नाममा पनि गरिनुपर्छ भन्ने नियम मुस्लिम ग्रन्थमा उल्लेख छ । यो दान पनि गरिबलाई नै दिइन्छ ।यसवर्ष (गत चैत १० गतेदेखि) मुस्लिम समुदायको एक महिना लामो व्रत (रमजान) शुरु भएको थियो । एक महिनासम्म दिनभर व्रत बसेर साँझ सूर्यास्तपछि नमाज पाठ गरिन्छ । बिहान सूर्योदय अघि र बेलुकी सूर्यास्तपछि मात्र मुस्लिम समुदायले नवौँ रमजान महीनामा भोजन गर्नेे परम्परा रहेको छ ।यसैबीच इदुउलफित्र (ईद)को अवसरमा रौतहटको राजपुर मद्रास महमुदियामा हजारौंको संख्यामा मानिस भेला भएर ईदको खुसीयाली मनाएका छन् । रौतहटका मुस्लिम समुदायले ईदगाह तथा मस्जिदहरुमा नमाज पढ्नुका साथै एकआपसमा शुभकामना साटेका छन् ।ईदका दिन ब्रतालुहरु बिहानै आफ्नै घरमा सामूहिकरुपमा नमाज पढेर आफू वा आफ्नो परिवारबाट भएको सबै गल्तीको क्षमा याचना गर्दै अल्लाहको प्रार्थना (दुवा) गरेका छन् । ईद मनाउने क्रममा एकआपसमा अंकमाल गरी वर्षौको रिस राग बिर्सिएर शुभकामना आदानप्रदान गर्ने गर्दछन् ।रौतहटको राजपुर नगरपालिकाका स्थानीय मौलाना मोहम्मद कारी शाहाबुदिनले मानवताका लागि नेपालीलगयात सबैका लागि, अल्लाहसँग दुवा प्रार्थना गरेर इदउलफित्र पर्व मनाइने बताए




























