
पार्टी मुख्यालय च्यासलमा नेकपा एमाले बागमती प्रदेश अधिवेशनको निर्वाचन हुने भएको छ । एमालेका नेता, कार्यकर्ता र प्रतिनिधिहरू पार्टी कार्यालयमा मतदान स्थल तोकिएपछि बिहानैदेखि ललितपुरको च्यासलस्थित कार्यालयमा जम्मा भएका छन् ।एमाले अधिवेशनको निर्वाचन कार्यतालिकामा केही हेरफेर भएको बताइएको छ । मतादाता नामावली बिहान ८ बजे प्रकाशन गर्ने भनिए पनि साढे १० बजेमात्रै मतदाता नामावली प्रकाशन गरिएको छ । ११ सय ६५ मतदाताको सुची प्रदेश अधिवेशनका लागि टाँसिएको छ ।प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीका अनुसार उम्मेदवारी मनोनयनको समय साढे ११ बजेलाई निर्धारित गरिए पनि २ बजेपछिलाई सारिएको जनाइएको छ । उनका अनुसार उम्मेदवारको अन्तिम नामावली साँझ ६ बजे प्रकाशन गरिने छ, भने मतदानको समय बिहीबार बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्मलाई तोकिएको छ ।




























