
बडादसैँ र तिहारको मुखमा बजारमा चिनीको हाहाकार मच्चिएको छ । स्वदेशी उत्पादनसँगै अन्तर्राष्ट्रिय बजारबाट समेत समयमै चिनी आयात हुन नसक्दा प्रतिकेजी १६० रुपैयाँ तिर्न तयार हुँदासमेत सर्वसाधारण उपभोक्ताहरूले चिनी पाउन सकेका छैनन् । चिनी अभावकै कारण आफ्ना बिक्री केन्द्रहरूमा राखिएका मूल्य सूचीमा चिनी समावेश नगरिएको आइतबारदेखि दसैँ–तिहार विशेष सुपथ मूल्य पसल सञ्चालन गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जानकारी दिएको छ ।सुपथ पसल उद्घाटनको दिन सम्ममा जम्मा ७२० केजी मात्र चिनी भएको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले बताइन् । आउने ग्राहकलाई प्रतिव्यक्ति २ किलोका दरले आइतबारदेखि खुल्ला गरिएको सुपथ मूल्य पसलमा चिनी उपलब्ध गराइएको न्यौपानेको भनाइ छ । अघिल्लो दिन हारालुछ भएर बिक्री भएको चिनी दोस्रो दिनमै चिनीको स्टक सकिएर आफ्नो बिक्री केन्द्रमा चिनी नहुने उनले जानकारी गराइन् । पसलमा भएको जति चिनी विक्री गर्ने तर थप चिनी भने दसैँअगाडि आउने सम्भावना नभएको उनले बताइन् ।




























