काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने धातुसहित एक महिला पक्राउ परेकी छन् । अवैध रुपमा लुकाइ छिपाइ भन्सार छली गरी लैजान लागेको सुनको रिङ १६ थान, टुक्रा ५ थान, सिक्री १ थान, औंठी १ थान र बाला १ थान गरी करिब ९८ ग्राम सुनसहित काठमाडौं महानगरपालिका–१५ स्वयम्भु घर भएकी ५८ वर्षीया मैयाँ तामाङ गुरूङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।उनको साथबाट प्रहरीले धातुका रिङ १६, सुनजस्तो देखिने धातुका टुक्रा पाँच, सिक्री एक, औँठी एक र बाला एकथान बरामद गरेको छ । करिब ९८ ग्राम तौलको सुनजस्तो देखिने धातु बरामद गरेको छ।आवश्यक अनुसन्धान र कारबाहीका लागि उनलाई प्रहरी वृत्त गौशालामा पठाइएको छ।