
हेटौंडा । हेटौंडामा खुकुरी प्रहारबाट ३५ वर्षीया महिलाको हत्या भएको छ ।राहुल भन्ने रमेश दासले बुधवार भाउजू गुडिया दासको हत्या गरेको र निज रमेशले जेठी भाउजू वर्ष ३५ की गुडिया दासलाई टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।बुधबार राति ९ बजे हेटौंडा उपमहानगरपालिका-१ चौकीटोल घर भएकी गुडिया दास घरको दोस्रो तलामा मृत भेटिएकी थिइन् ।यस्तै दाजु २८ वर्षीय रुपेश दासलाई भाइ वर्ष २२–२३ का रमेशले घरायसी विषयमा विवाद हुँदा खुकुरी प्रहार गरेको पाइएको छ । बुधबार दिउँसो ४ः१० बजेको समयमा भाइ रमेशले खुकुरी प्रहारले रुपेशको टाउको, दाहिने हात, करङको भागमा चोट लागि गम्भिर घाईते बनाएको जानकारी प्राप्त भएपछि प्रहरीले रमेशलाई खुकुरीसहित नियन्त्रणमा लिएको थियो ।मृतक गुडियाको श्रीमान् रोशन दास रोजगारीका लागि कतारमा रहेको प्रहरीले जनाएको छ । गुडिया र रोशनका तीन सन्तान रहेका छन् ।दास परिवारले हेटौंडामा फलफूलको व्यवसाय गर्दै आएको थियो । घटना घरायसी विवादका कारण हुन पुगेको बताइए पनि प्रहरीले स्पष्ट कारण नखुलेको बताएको छ ।




























