गोर्खा जस्तो माटाको दरबारमा बस्ने एउटा राजा जुन राजा स्वयंलाई २ छाक खान धौधौं थियो, त्यस्तो नाजुक आर्थिक अवस्थामा रहेको एक युवा राजा पृथ्वीनारायण शाहले ब्रिटिस कम्पनीले नेपालका ससाना राज्यलाई आक्रमण गरेर इष्टयण्डियामा गाभ्न लागेको थाहा पाएपछि जनतालाई प्रेरित गरेर नेपालको एकीकरण गरी आज हामीलाई विश्वकै एउटा सुन्दर देश नेपाल दिए ।
पुण्यप्रसाद प्रसाई
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस । आजको दिन वास्तवमा नेपालीको महान् चाड हुनुपर्छ । जसरी अरु देशहरु स्वतन्त्रता दिवस धुमधामले मनाउँछन् त्यसैगरी हामीले यस पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउनु पर्छ ।
गोर्खा जस्तो माटाको दरबारमा बस्ने एउटा राजा जुन राजा स्वयंलाई २ छाक खान धौधौं थियो, त्यस्तो नाजुक आर्थिक अवस्थामा रहेको एक युवा राजा पृथ्वीनारायण शाहले ब्रिटिस कम्पनीले नेपालका ससाना राज्यलाई आक्रमण गरेर इष्टयण्डियामा गाभ्न लागेको थाहा पाएपछि जनतालाई प्रेरित गरेर नेपालको एकीकरण गरी आज हामीलाई विश्वकै एउटा सुन्दर देश नेपाल दिए । ति राष्ट्र निर्मातालाई हामीले पर्याप्त सम्मान दिन नसक्नुको कारण के होला ?
यसमा केही मानिसहरु जुन कारण देखाउने गर्छन् त्यो सब झूट हो । यसको मुख्य कारण भनेको हामीमा राष्ट्र प्रेम र राष्ट्रियताको भावनाको पर्याप्त विकास हुन नदिने षडयन्त्र लुकेको छ । जनतामा राष्ट्रियताको भावना जागृत हुन नसकेपछि त्यो देशको सार्वभौमसत्ता सिध्याउन उति गाह्रो हुँदैन किनकि जब हाम्रो देशको सार्वभौमसत्ता खतरामा पर्छ त्यो बेला एउटा जनता मैदानमा उत्रँदैन ।
कुनै पनि राष्ट्र बनाउन कति कठिन हुन्छ तपाईं ति प्यालेष्टिनीलाई हेर्नुहोस् जो एउटा राष्ट्रको निर्माणका लागि दैनिक इजराइलको बम खाइरहँदा पनि बनाउन सकेका छैनन् । तिनै इजराइलीले पनि संसारबाट लखेटिँदै र मारिँदै कत्रो बलिदानपछि राष्ट्र पाएका थिए ! तर हामी राष्ट्र निर्माण केही ठूलो कुरा नै होइन जस्तो गरी राष्ट्र निर्मातालाई मान्दिन मात्र भन्दैनौ थुक्छौं पनि किन रे भन्दा उसको नाक मेरो जस्तो थेप्चो भएन रे ! आँखा अलिकति चिम्रा भएनन् रे! तिनका छोराहरु पछि राजा बने र सामन्तीको पक्षपोषण गरे रे !
तपाईं राजा मान्दिनँ भन्न पाउनु हुन्छ तर राष्ट्र निर्मातालाई मान्दिनँ कसरी भन्न सकिन्छ ? अनि केका लागि भन्नु पर्छ ? कार्ल माक्र्सले जर्मनी एकीकरण गर्ने विस्मार्कलाई मान्छन्, रसियामा स्टालिनदेखि पुटिनसम्म जार पिटर द ग्रेटलाई मान्छन् तर नेपालका कृष्ण सिटौला र प्रचण्डेहरु राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई मान्दिनँ भन्छन् किन ? यसको मुख्य कारण भनेको हामी नेपालीमा राष्ट्रियताको भावना विकास नहोस् भन्ने विदेशी तत्वले गरेको लगानीको परिणाम हो । हामीमा राष्ट्रियताको भावना जागोस् भन्ने जति इण्डिया चाहँदैन त्यति नै पश्चिमा देश र धर्मान्तरण गराउने संस्था पनि चाहँदैनन् ।