
काठमाडौं । नेपालका लागि खरिद गरिएको १ हजार २५० मेट्रिक टन डीएपी (डाइ–अमोनियम फस्फेट) मल आज नेपाल आइपुग्ने भएको छ।कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार ग्लोबल टेन्डरमार्फत खरिद गरिएको ३० हजार मेट्रिक टन डीएपी मल गत जुलाई १० मा भारतको कोलकाता बन्दरगाहमा आइपुगेको थियो। सोही परिमाणमध्ये १ हजार २५० मेट्रिक टन मल साउन १ गते नेपालतर्फ ढुवानी सुरु गरिएको थियो, जुन आज नेपाल आइपुग्नेछ।बाँकी डीएपी मलको प्याकेजिङ (ब्यागिङ) कार्य हाल कोलकाता बन्दरगाहमै भइरहेको कम्पनीले जनाएको छ। प्याकेजिङ सम्पन्न भएसँगै आज थप एक रेक मल वीरगञ्जतर्फ पठाइएको छ। बाँकी मल पनि चरणबद्ध रूपमा नेपाल भित्र्याइने कम्पनीले जनाएको छ।यस्तै, ३० हजार मेट्रिक टन युरिया मल पनि कोलकाता बन्दरगाहमा आइपुगेको छ। हाल उक्त मलको अनलोडिङ र ब्यागिङ कार्य भइरहेको तथा त्यसपछि एक रेक युरिया मल वीरगञ्जका लागि लोड गर्ने तयारी भइरहेको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ।



























