
बैंकिङ क्षेत्रमा खराब कर्जा बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो सात महिना अर्थात् यही माघ मसान्तसम्ममा सञ्चालनमा रहेका २२ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका कुल ५६ वटा बैंक तथा फाइनान्स कम्पनीहरुले ४८ खर्ब ५९ अर्ब ७१ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।उक्त कर्जामध्ये औसतमा दुई दशमलव ६३ प्रतिशत कर्जा खराब देखिएको छ । गत आवको सोही अवधिमा भने सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीसहितका कुल ६१ वटा संस्थाहरुले ४६ खर्ब ९० अर्ब ४८ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औसतमा एक दशमलव ३१ प्रतिशत कर्जा खराब देखिएको छ ।राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो सात महिनामा वाणिज्य बैंकहरुले मात्र ४३ खर्ब आठ अर्ब १६ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औसतमा दुई दशमलव ४९ प्रतिशत कर्जा खराब देखिएको छ । गत आवको सोही अवधिमा भने वाणिज्य बैंकहरुले ४१ खर्ब ६३ अर्ब ३० करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औसतमा एक दशमलव १८ प्रतिशत मात्र कर्जा खराब देखिएको थियो । यसैगरी विकास बैंकमा पनि पछिल्लो समय खराब कर्जाको अनुपात बढेको छ ।राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो सात महिनामा सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरुमा औसतमा दुई दशमलव ८२ प्रतिशत कर्जा खराब देखिएको छ । यस अवधिमा विकास बैंकहरुले प्रवाह गरेको कुल कर्जा रकम भने चार खर्ब ५८ अर्ब ८५ करोड २० लाख रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा भने विकास बैंकहरुले चार खर्ब ३९ अर्ब १० करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औसतमा एक दशमलव ४२ प्रतिशत मात्र कर्जा खराब देखिएको थियो ।राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो सात महिनामा फाइनान्स कम्पनीहरुमा भने सबैभन्दा खराब कर्जा देखिएको छ । यस अवधिमा फाइनान्स कम्पनीहरुले ९३ अर्ब तीन करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औसतमा सात दशमलव ८२ प्रतिशत कर्जा खराब देखिएको छ । गत आवको सोही अवधिमा भने फाइनान्स कम्पनीहरुले ८८ अर्ब आठ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा सात दशमलव शून्य पाँच प्रतिशत कर्जा खराब देखिएको थियो ।Source:Arthik




























