
काठमाडौं- टंकमणि शर्मा नेतृत्वको समितिले एनसेल शेयर खरिद–बिक्रीसम्बन्धी प्रतिवेदन माघ १५ गते बुझाउने भएको छ । गत मंसिर २१ गतेको मन्त्रिपरिषद बैठकले पूर्वमहालेखापरीक्षक शर्माको नेतृत्वमा एनसेलको शेयर खरिद–बिक्रीबारे छानबिन समिति गठन गरेको थियो ।
बिहीबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एनसेल शेयर खरिदको विषयमा सरकारले बनाएको छानविन समितिले प्रतिवेदन बुझाउन एक महिनाको समय दिएको भएपनि समितिले प्रतिवेदन बनाउन समय माग गरेकाले माघ १५ सम्म समय थप गरिएको बताइन् ।उनले सरकारले दिएको समय अवधि माघ १५ गतेभित्र प्रतिवेदन बुझाउने तयारी रहेको जानकारी दिनुभयो । मन्त्री शर्माले शेयर खरिद बिक्रीएको सम्बन्धमा समिति अध्ययन तथा छानविनको क्रममा रहेको बताइन् । उनले समितिलाई सरकारले नेपाल र नेपालीको हितमा हुने गरेर छानविन प्रक्रिया अगाडि बढाउन भनेकाले खरिद सम्झौतामा उठेका सबै विषयहरुको बारेमा जवाफ आउने गरी प्रतिवेदन आउने विश्वास रहेको बताइन् ।




























