
काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । नेप्से परिसूचक ४७.५५ अंकले उकालो लागेर २६३३.४२ अंकमा कारोबार बन्द भएको हो । यो अघिल्लो दिनको तुलनामा ०.८३ प्रतिशतको वृद्धि हो ।आइतबार नेप्से परिसूचक ४७.५५ अंकले बढेर २६३३.४२ विन्दुमा पुगेको छ । यससँगै सेन्सेटिभ इण्डेक्स ८.२५ अंक, फ्लोट इण्डेक्स ३.४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८७ अंकले बढेको छ ।नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । अघिल्लो कारोबार दिन बुधबार ३ अर्ब २२ करोड रुपैयाँको शेयर कारोबार भएको बजारमा यस दिन ३२८ स्टकको ८९ हजार २५१ पटकको कारोबारमार्फत ५ अर्ब ५३ करोड १३ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ३४ लाख ६८ हजार कित्ता शेयर खरिद–बिक्री भएको छ ।आज मिड सोलु हाइड्रोको सबै भन्दा बढी ९.४९ प्रतिशतले बढेको छ भने जोशी हाइड्रोको शेयर ६.९७ प्रतिशतले बढेको छ । त्यस्तै आज वीन नेपाल लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ ।त्यस्तै आज सबै भन्दा बढी युनियन हाइड्रोको २७ करोड ६० लाख कारोबार भएको छ भने मन्जुश्री फाइनान्सको २४ करोड ८९ लाखको कारोबार भएको छ ।यस दिन बजारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक वृद्धि भएपछि समग्र नेप्से परिसूचकमा सकारात्मक प्रभाव परेको छ।




























