
काठमाडौं । साताको पहिलो कारोवार दिन आज (आइतबार) नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।आइतबार एकै दिन प्रतितोला ६ सय रुपैयाँ मूल्य बढेपछि नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६५ हजार रुपैयाँ तोकेको छ । यसअघि शुक्रबार १ लाख ६४ हजार ४ सय रूपैयाँ कायम भएको थियो ।यस्तै आज चाँदीको मूल्य पनि ९५ रूपैयाँले बढेको छ । शुक्रबार तोलामा १ हजार ९ सय ८० रूपैयाँमा कारोवार भएको चाँदी आज ९५ रूपैयाँले बढेर २ हजार ७५ रूपैयाँमा कारोवार भइरहेको छ ।भाउ बढेपछि अब नेपाली बजारमा सुनका तयारी गहनाको मूल्य तोलाको झन्डै एक लाख ९० हजार रुपैयाँ पुगेको छ । गहनामा व्यवसायीले ज्याला र जर्तीका नाममा थप १२ देखि १८ प्रतिशत शुल्क जोड्छन् । सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारको मूल्य र त्यसमा थप २० प्रतिशत भन्सार शुल्क जोड्छ । बैंक र गहना व्यवसायीको नाफा शीर्षकमा १ प्रतिशत छुट्याइन्छ । त्यसपछि सार्वजनिक मूल्यमा गहना व्यवसायीहरूले १२ देखि १८ प्रतिशत शुल्क लिने गरेका हुन् ।मध्यपूर्वलगायत क्षेत्रमा बढ्दो भूराजनीतिक अनिश्चितताका कारण व्यापारीहरूले सुनलाई सुरक्षित सम्पत्तिका रूपमा कारोबार गर्दा मागमा आएको वृद्धिले भाउ बढेको हो ।




























