
काठमाडौं । नेपाली मूलका गायक तथा अभिनेता प्रशान्त तामाङको असामयिक निधन भएको छ । उनको ४२ वर्षको उमेरमा आज दिल्लीमा निधन भएको संगीतकार राजेश घतानीले जानकारी दिए ।दार्जिलिङका गायक महेश सेवाले पनि प्रशान्तको निधन भएको पुष्टि गरे। उनलाई कार्डियाक अरेस्ट भएको बताइएको छ। तामाङ भारतीय टिभी रियालिटी शो इन्डियन आइडलको तेस्रो संस्करणका विजेता हुन् । उनले केही नेपाली चलचित्रमा अभिनय पनि गरेका छन् ।उनले केही समय कोलकाता प्रहरीको कन्सटेबलको जागिर समेत गरेका थिए । सन् २००७ मा प्रशान्तको डेब्यू एल्बम ‘धन्यवाद’ रिलिज भएको थियो । ‘वीर गोर्खाली’ र ‘असारे महिनामा’ उनका चर्चित गीतहरू हुन् ।उनले नेपालको चर्चित टिभी श्रृंखला ‘तीतो सत्य’ मा समेत अभिनय गरेका थिए । प्रशान्तको निधनको खबरलगत्तै उनलाई सामाजिक संजालमा समवेदनाको ओइरो लागिरहेको छ ।




























