
संघीय लिम्बुवान पार्टी नेपाल एकीकरण भएर जसपा नेपालमा समाहित भएका नेताहरुले जसपा नेपाल छाडेका छन् ।बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले पार्टी विभाजनप्रति असन्तुष्टि जनाउँदै जसपा नेपाल छाडेको घोषणा गरेका हुन् । उनीहरुले प्रा.डा.महेन्द्र लावतीको संयोजकत्वमा मोर्चा पहिचानवादी मोर्चा घोषणा गरेका छन् । पत्रकार सम्मेलनमा लावतीले पछिल्लो समय पार्टीका मुख्य नेतृत्वहरु पहिचानले निर्दिष्ट गरेको मुद्दाभन्दा पनि सत्ताको खेलमा लागेको, गैर–लोकतान्त्रिक आचरण अवलम्बन गरेको, पहिचानको आन्दोलनमा सक्रिय नभएको आरोप लगाउनुभयो । उहाले अहिले आफुहरु जसपा नेपाल वा जसपा कुनैको पक्ष नलिने तर पहिचानबादीहरुसंग सहकार्य गर्ने धारणा राख्नुभयो । पहिचानवादी मोर्चाका संयोजक लावतीले नेपालमा सदियौंदेखि एकल जातीय राज्य स्थापित भएको र आज पनि एकल जातीय राज्य कायमै रहेको भन्दै नेपाल बहुजातीय समाज भएकाले नेपाली राज्य पनि बहुजातीय हुनुपर्ने, सबैको पहिचान स्थापित हुनुपर्ने बताउनुभयो ।जसपा नेपालमा पहिचानबारे विचार राम्रोसँग समेटिएकाले आफूहरु पहिला उक्त पार्टीमा लागेको तर पछिल्लो समयमा पहिचानको आन्दोलन र पहिचानको विस्तारमा जसपा नेतृत्वले समर्थन नगरेको उहाले बताउनुभयो । मोर्चाले प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिलाई सघाउने पनि उहाको भनाइ छ ।




























