काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरिजाबाबु नभएको भए देशमा राजनीतिक परिवर्तन र गणतन्त्र केही नहुने बताएका छन् ।पूर्वप्रधानमन्त्री एवम् कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको जन्मशताब्दीका अवसरमा क्रान्तिदेखि शान्तिसम्म फोटो प्रदर्शनी गरिएको छ ।नेपालमा शान्ति स्थापनाका लागि कोइरालाले पु¥याउनुभएको योगदानको स्मरण गर्दै कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले केन्द्रीय कार्यालय सानेपामा क्रान्तिदेखि शान्तिसम्म विषयक तस्बिर प्रदर्शनीको आयोजना गरेको हो । प्रदर्शनीमा गिरिजाप्रसाद कोइरालाको जीवनीका साथै उहाले गर्नुभएको योगदानको स्मरण हुने तस्वीर राखिएको थियो । प्रदर्शनीको उद्घाटन कांग्रेस सभापति शेर बहादुर देउवाले गर्नुभयो । सो क्रममा देउवाले गिरिजाप्रसाद कोइराला नभएको भए मुलुकमा गणतन्त्र नै नआउने बताउनुभयो । सात सालको क्रान्तिदेखी गणतन्त्र स्थापनासम्ममा कोइरालाको योगदान निकै महत्वपूर्ण रहेको उहाको भनाइ छ ।यसैबीच प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली सानेपा पुगेर क्रान्तिदेखि शान्तिसम्म विषयक तस्बिर प्रदर्शनी अवलोकन गर्नुभएको थियो । चारपटक प्रधानमन्त्री बन्नुभएका कोइरालाको २०६६ चैत ७ गते निधन भएको थियो ।