
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले खराव मौसमका कारण एयर डाईनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको देखिएको बताउनुभएको छ ।बिहीबार प्रतिनिधिसभा अन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा अधिकारीले खराव मौसम र बादलभित्र हेलिकप्टर प्रवेश गरेका कारण दुर्घटना भएको देखिएको बताउनुभएको हो । खराव मौसमका कारण फर्कनका लागि देव्रेतर्फ मोड्नेक्रममा दुर्घटना भएको उहाको भनाइ छ ।उहाले खराव मौसम र बादलभित्र छिर्नका लागि कानूनले नै बर्जित गरेको जानकारी दिनुभयो । उहाले दुर्घटनाको विस्तृत कारण सरकारले गठन गरेको जाँचबुझ आयोगको प्रतिवेदनले दिने जिकिर गर्नुभयो ।प्राधिकरणको प्रारम्भीक अनुसन्धानमा भीएफआरको उल्लंघन गरेका कारण दुर्घटना भएको देखिएको उहाले बताउनुभयो ।बैठकमा समिति सदस्यहरुले हवाई सुरक्षाका बिषयमा पटक पटक छलफल भएपनि समस्या अन्त्य हुन नसकेको बताएका थिए । समिति सदस्य विमलेन्द्र निधिले उड्डयन प्राधिकरणका पदाधिकारीलाई पदमुक्त वा निलम्वन गरेर मात्रै हवाई दुर्घटनाको छानविन गर्नुपर्ने बताउनुभयो ।त्यस्तै अन्य समिति सदस्यहरुले नेपालको हवाई सेवा प्रदायक र नियमक निकायलाई अलग गर्ने गरि छिटो भन्दा छिटो कानून निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।




























