
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयता र गणतन्त्रसहितको व्यवस्थालाई असर कुनै पनि काम सरकारले नगर्ने स्पष्ट पार्नुभएको छ ।बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निकै संघर्ष गरेर अहिलेको प्रणाली ल्याउन सफल भएको भन्दै अहिलेको व्यवस्थालाई असर कुनै पनि काम सरकारले नगर्ने स्पष्ट पार्नुभयो । लोकतन्त्रको रक्षा र संविधानको रक्षा गर्नको लागि आफू प्रतिबद्ध रहेको उहाले बताउनुभयो ।उहाले संविधानको सर्वस्वीकार्यताको पक्षलाई ध्यानमा राखेर सवै दलहरुबीच सहमति कायम गरेर संविधानको संशोधन गरिने जिकिर गर्नुभयो । सुशासन र बिकासका काममा तीव्रता दिनका लागि संविधान संशोधन हुने भन्दै यसलाई प्रतिगमनको रुपमा बुझ्न नहुने बताउनुभयो । ओलीले लोकतान्त्रिक व्यवस्था विरोधी प्रवृत्तिहरु देखा पर्न थालेकाले त्यस्ता प्रवृत्तिबाट देशलाई मुक्त गर्नका लागि गम्भीर भएर अघि बढ्ने उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्यलाई पुरा गर्न देश र जनताको हितहरुप्रति समर्पित भएर काम गर्ने जिकिर गर्नुभयो ।त्यस्तै उहाले संक्रमणकालीन न्यायसंग सम्बन्धीत विधेयक पारित भएपछि द्वन्द्वको अन्तिम किस्ता व्यवस्थापन हुने उल्लेख गर्नुभयो । शान्ति प्रक्रिया थालनी भएको १८ वर्षपछि सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनमा सहमति हुनु शान्तिका पक्षधरहरुका लागि खुसीको विषय भएको उहाले बताउनुभयो ।प्रधानमन्त्री ओलीले सहमतिका साथ कानुन पारित हुने चरणमा पुुगेकाले पारित भएका कानुनलाई कार्यान्वयन गर्न सरकारले यथेष्ट सहजीकरण गर्ने स्पष्ट गर्नुभयो । त्यस्तै उहाले अन्य विधेयकहरुलाई पनि सरकारले प्राथमिकताका साथ अघि बढाउने बताउनुभयो ।




























