काठमाडौं । सरकारले बाढी, पहिरो र डुवानका कारण भएको धनजनको क्षतिप्रति दु:ख व्यक्त गर्दै तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले मंगलबारदेखि ३ दिन राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।विपदबाट प्रभावित घरपरिवारलाई राहत र उद्धारलगायत विषयमा प्रदेश र स्थानीय तहबाट सम्बन्द्ध पक्षसँग आवश्यक समन्वय गरी बढी प्रभावित जिल्लामा गृह मन्त्रालयलका प्रतिनिधि समावेश भएको स्थलगत अध्ययन गर्न टोली गठन गरी परिचालन गर्ने निर्णय भएको उनले जानकारी दिए ।प्रधानमन्त्री ओली सोमबार साँझ मात्र अमेरिका भ्रमणबाट फर्किएका थिए । उनी आइपुगेलगत्तै बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा सरकारले १ अर्ब रुपैयाँ दिने निर्णय गरेको छ । उक्त कोषमा प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब दिनेछन् ।