
काठमाडौं । गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल नेपाललाई सीमाको ‘डेडिकेटेड फोर्स’ बनाइने बताएका छन् ।सशस्त्र प्रहरी बल नेपालको मंगलबार आयोजित निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले अन्तर्राष्ट्रिय मापदण्डसहितको थप बोर्डर आउटपोस्ट (बीओपी) हरुको स्थापना गर्न लागिएको बताए ।‘सशस्त्र प्रहरी बल, नेपाललाई सीमाको डेडिकेटेड फोर्स बनाउन मन्त्रालय लागि परेको छ । यसका लागि अन्तर्राष्ट्रिय मापदण्डसहितको थप बीओपीहरुको स्थापना, हाल भैरहेको बीओपीहरुको स्तरवृद्धि गर्दै संगठनलाई प्रविधिमैत्री एवं चलायमान बनाउनेतर्फ मन्त्रालय प्रयासरत रहेको बताए ।मन्त्री लेखकले दीक्षित प्रहरी निरीक्षकहरुलाई आफ्नो वौद्धिकता, योग्यता, क्षमता र इमान्दारीलाई सदैव सत्य र लोकहितको पक्षमा लगाएर काम गर्न आग्रह गरे ।
उनले सशस्त्र प्रहरी बल नेपालको कानून परिवर्तन गर्न लागिएको भन्दै यसले सशस्त्र प्रहरीलाई थप सबल, सक्षम र व्यवसायिक बनाउने पनि बताए ।




























