सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगी प्रकरणमा संलग्न सबै माथि छानबिन हुने स्पष्ट पार्नुभएको छ ।बुधबार काठमाडौंमा आयोजित तमु पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै उहाले सहकारी ठगीमा संलग्नलाई कुनै दलमा आबद्ध भएको कारण छाड्न नसकिने बताउनुभयो । रास्वपाका नेतालाई मात्रै सहकारी प्रकरणमा कारवाही गर्यो भन्नु गलत भएको उहाको भनाइ छ ।गुरुङले राज्यले गर्ने छानविनलाई सवैले सहयोग गर्नुपर्ने र अदालतको आदेशलाई सवैले पालना गर्नुपर्नेमा जोड दिनुभयो । छानविनलाई नै प्रभाव पार्ने काम गैरकानूनी भएको उहाले बताउनुभयो ।सरकारका प्रवक्ता समेत रहनुभएका गुरुङले सहकारी सम्बन्धी अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय मंगलबारको मन्त्रीपरिषद् बैठकले गरेको जानकारी दिनुभयो । त्यस्तै उहाले मुलुकको सुरक्षा, आर्थिक विकास समृद्धिको लागि सरकारले काम गरिरहेको धारणा राख्नुभयो ।एआईको प्रयोग सम्बन्धी नीति ल्याएर त्यस लगत्तै कानुन निर्माण गर्ने जानकारी दिनुभयो । आफ्नो कार्यकालमा नेपालको सञ्चार र सूचना प्रविधिको क्षेत्रमा व्यवस्थित परिस्थिति निर्माण गरेर छाड्ने उहाँको भनाइ छ ।सूचना पाउनु हरेक नागरिकको आधारभूत अधिकार भएको बताउँदै उहाँले सूचनाको अधिकारलाई कुनै पनि अवस्थामा कुण्ठित गर्नु नहुने बताउनुभयो ।