
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षमा नयाँ सरकार बन्ने संकेत गरेका छन् ।गृह जिल्ला चितवनमा आइतबार पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले नयाँ घटनाक्रमहरू विकसित भएको आफूले अनुभव गरिरहेको बताए ।अध्यक्ष प्रचण्डले भने, ‘परिस्थिति यस्तो बन्दैछ कि यो सरकार धेरै अगाडि जान सहज छैन भन्ने कुरा पनि देखिइराख्या छ।
उनले अहिलेको नयाँ अनुभवका आधारमा आफूले ठूलो दल कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने धारणा राखेको स्पष्ट पारे ।वर्तमान सरकारप्रति जनआक्रोश बढेको र सरकारमा रहेका दलहरू पनि सडकमा आएकाले सरकारको भविष्य सुनिश्चित नरहेको अध्यक्ष दाहालको भनाइ छ ।
शिक्षक, डाक्टर, नर्स र राजनीतिक दलहरू समेत वर्तमान सरकारविरुद्ध सडक आन्दोलनमा उत्रिएको भन्दै दाहालले परिस्थिति निकै गम्भीर र पेचिलो बनेको विश्लेषण गरे । उनले चौतर्फी रूपमा सरकारप्रति असन्तुष्टि र आवेग देखिएको र त्यसको असर सडकमा देखिएकाले नयाँ वर्षले केही न केही निकास लिएर आउने उल्लेख गरे ।
अध्यक्ष दाहालले वर्ष २०८१को समीक्षा गर्द राजनीतिक घटनाक्रमका हिसाबले यो वर्ष औसत भएको टिप्पणी गरे । वर्ष २०८२मा राम्रो काम गर्न २०८१ सालले आधार भने दिएको उनको भनाइ छ ।



























