
काठमाडौँ । रसुवा–भोटेकोशी क्षेत्रमा गएको बाढीका कारण तोकिएको समयमा सम्पत्ति विवरण पेश गर्न नसकेका राष्ट्रसेवक कर्मचारीलाई सम्पत्ति विवरण बुझाउन थप ३० दिनको म्याद दिइएको छ ।राष्ट्रिय किताबखानाले सूचना जारी गर्दै विपद्का कारण प्रभावित क्षेत्रमा कार्यरत रही निर्धारित समयभित्र सम्पत्ति विवरण पेश गर्न नसकेका निजामती कर्मचारी, नेपाल प्रहरी तथा शिक्षकका लागि म्याद थप गरिएको जनाएको हो ।सरकारले २०८३ भदौ १० गते रसुवा–भोटेकोशी क्षेत्रमा गएको बाढीका कारण उक्त क्षेत्रलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो । सो क्षेत्रमा कार्यरत रही राष्ट्रिय किताबखानामा सम्पत्ति विवरण पेश गर्नुपर्ने कानुनी दायित्व भएका कर्मचारीले विपद्का कारण निर्धारित समयमा विवरण बुझाउन नसकेकाले थप ३० दिनको समय दिइएको किताबखानाले जनाएको छ ।किताबखानाका अनुसार थप गरिएको अवधिभित्र सम्पत्ति विवरण पेश गर्दा विपद्का कारण निर्धारित समयमा विवरण बुझाउन नसकेको स्पष्ट कारण खुलाइएको सम्बन्धित कार्यालय प्रमुखबाट जारी आधिकारिक सिफारिसपत्र अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ ।सम्बन्धित कर्मचारीलाई थप गरिएको म्यादभित्र आवश्यक कागजातसहित सम्पत्ति विवरण पेश गर्न राष्ट्रिय किताबखानाले अनुरोध गरेको छ ।



























