
काठमाडौं । भारतीय अभिनेत्री शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रका चर्चित व्यक्तित्वहरूको सहभागितामा काठमाडौं फिल्म फेस्टिभल आयोजना हुने भएको छ । काठमाडौं महानगरपालिकाको आयोजनामा कात्तिक १३ देखि १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा नेपाली तथा विदेशी चलचित्र प्रदर्शनसँगै अन्तरसंवाद, मास्टर क्लास, सम्पदा यात्रा र अवार्ड समारोह आयोजना गरिनेछ ।काठमाडौंको प्राचीनता, मौलिकता, संस्कार, संस्कृति, परम्परा तथा मूर्त, अमूर्त र अभिलेखीय सम्पदाको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको महानगरपालिकाले जनाएको छ । पुराना पुस्ताका चलचित्रकर्मीलाई सम्मान गर्दै नयाँ पुस्तामा कला र सिर्जना हस्तान्तरण गर्नुका साथै काठमाडौंका ओझेलमा परेका कथा र स्थानीय जीवनशैलीलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउनु पनि महोत्सवको उद्देश्य रहेको छ ।महोत्सवमा सहभागी विदेशी चलचित्रकर्मीले नेपाली कलाकार, निर्माता, वितरक, प्रवद्र्धक, प्रदर्शक तथा चलचित्र अध्ययनरत विद्यार्थीसँग अन्तरक्रिया गर्नेछन् । अभिनेत्री शबाना आजमीले कात्तिक १४ गते नेपाल पर्यटन बोर्डमा आयोजना हुने ‘चलचित्र, महोत्सव र सार्थक जीवन’ विषयक अन्तरसंवादमा सहभागिता जनाउने कार्यक्रम छ । त्यसैगरी, दीप्ति डीकुन्हाले ‘सिर्जनात्मक सहरहरूको प्रवद्र्धनका लागि फिल्म र महोत्सव’ विषयक प्यानल छलफलमा भाग लिनेछिन् ।जापानी निर्देशक ताकायुकी नाकामुराले कात्तिक १४ गते राष्ट्रिय सभागृहमा जापानको यामागाता युनेस्को फिल्म सिटीबारे प्रस्तुति दिनेछन् । कात्तिक १५ गते नेपाल पर्यटन बोर्डमा प्राध्यापक मार्को मुलरले ‘ग्लोबल साउथ र अन्तर्राष्ट्रिय महोत्सवबीच चलचित्र सौन्दर्यशास्त्र’ विषयमा मास्टर क्लास सञ्चालन गर्नेछन् । सोही दिन ‘नेपाली चलचित्र उद्योगको विगत, वर्तमान र भविष्य’ विषयमा प्यानल छलफलसमेत हुनेछ ।महोत्सवको उद्घाटन कात्तिक १३ गते वसन्तपुरमा सम्पदा यात्रासहित गरिनेछ । कात्तिक १५ गते राष्ट्रिय सभागृहमा रेड कार्पेट कार्यक्रम, पुरानो नेपाली चलचित्र ‘के घर के डेरा’ को प्रदर्शन तथा अवार्ड समारोह आयोजना गरिनेछ ।नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ । अन्तर्राष्ट्रिय पानोरामाअन्तर्गत विभिन्न देशका समकालीन, स्वतन्त्र तथा सांस्कृतिक विविधता झल्काउने चलचित्रहरू पनि प्रदर्शन गरिनेछन् ।महोत्सवमा चीनको ‘डियर यु’, भारतको ‘बयान’, अस्ट्रेलियाको ‘मिस एन प्लेस’, अस्ट्रेलिया–मंगोलियाको ‘स्टेयर्स’, अमेरिकाको ‘इन्च्यान्टेड म्याटर, द आर्ट अफ रोबर्ट पावेल’, फ्रान्सको ‘ला ग्राभिडा’, दक्षिण कोरियाको ‘द किङ्स वार्डेन’, सिंगापुर–भारतको ‘नट अ हिरो’, जर्मनी–अफगानिस्तानको ‘नो गुड मेन’ र अमेरिकाको ‘द गडफादर’ लगायत चलचित्र प्रदर्शनका लागि छनोट भएका छन् ।समापनका अवसरमा नेपाली, अमेरिकी, फ्रान्सेली तथा अस्ट्रेलियाली सहकार्यमा बनेको चलचित्र ‘प्राइभेट प्रपर्टी’ प्रदर्शन गरिनेछ । जापानको यामागाता युनेस्को क्रिएटिभ सिटी अफ फिल्मबाट आएको लघु चलचित्र ‘भ्यू पिपुल, भ्यू सिटिज’ पनि महोत्सवमा देखाइनेछ ।नेपाली प्रतिभाका चलचित्रलाई प्रोत्साहन पुरस्कारमहोत्सवको ‘नेपाल पानोरामा सर्ट्स’ अन्तर्गत नेपाली परिवेशमा स्थानीय नवप्रतिभाले निर्माण गरेका चलचित्र, लघु चलचित्र तथा वृत्तचित्र प्रदर्शन गरिनेछन् । महानगरपालिकाले गरेको खुला आह्वानमा प्राप्त ७५ चलचित्रमध्ये १० वटा छनोट गरिएको छ । छनोट भएका प्रत्येक चलचित्रलाई एक लाख रुपैयाँका दरले प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ ।छनोट भएका चलचित्रमा सरिता शाहको ‘मानकी’, सुदर्शन योञ्जनको ‘अशुभ अष्टमी’, श्यामबहादुर लिम्बूको ‘डुअर्स आर स्टिल क्लोज्ड’, पूर्णबहादुर गुरुङको ‘अ लेटर इन विन्टर’, लाक्पा छोडेन लामाको ‘होम इज नट अ प्लेस’, राजेशप्रसाद खत्रीको ‘चुम्पा : अ डल अन्डर द बास्केट’, अलिन कट्टेलको ‘साप्सु : अ सोलेम प्रमिस’, आकाश धिमालको ‘नार’ र सर्जुन राईको ‘मारिछा’ रहेका छन् ।त्यसैगरी, ‘माई कल्चर, माई हेरिटेज’ शीर्षकमा आयोजित युवा भिडियो चुनौतीमा प्राप्त ३५ भिडियोमध्ये ११ वटा छनोट भएका छन् । प्रतियोगितामा प्रथम हुनेले एक लाख ५० हजार रुपैयाँ, द्वितीय हुनेले एक लाख रुपैयाँ र तृतीय हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।महोत्सवले नेपाली चलचित्रको संरक्षण, स्थानीय प्रतिभाको प्रवद्र्धन तथा काठमाडौंको कला, संस्कृति र सम्पदालाई अन्तर्राष्ट्रिय चलचित्र जगत्मा परिचित गराउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।


























