काठमाडौँ । कोरोना महामारी र आर्थिक संकटसँग जुधिरहेको उत्तर कोरियाले गत वर्ष मात्रै आणविक कार्यक्रममा झन्डै ६४२ मिलियन अमेरिकी डलर(करिब ८० अर्ब नेपाली रुपैयाँ) खर्च गरेको बताइएको छ ।उत्तर कोरियाले आणविक कार्यक्रमको बजेट र हतियारको संख्या औपचारिक रूपमा कहिल्यै सार्वजनिक गरेको छैन । सन् २००६ यता उत्तर कोरियाले कम्तीमा ६ पटक आणविक परिक्षण गरेको छ । जेनेभामा रहेको इन्टरनेसनल क्याम्पेन टु अबोलिस न्युक्लियर विपन्सले मंगलबार प्रकाशित गरेको एक रिपोर्टअनुसार उत्तर कोरियाले कुल राष्ट्रिय उत्पादनको एक तिहाई सैन्य बजेटमा खर्चिने गरेको छ ।सैन्य बजेटको ६ प्रतिशत आणविक हतियारमा खर्च हुने गरेको पनि उक्त रिपोर्टमा उल्लेख छ । उक्त रिपोर्टअनुसार भने उत्तर कोरिया आणविक हतियारमा पाकिस्तानभन्दा पनि कम खर्च गर्ने मुलुक रहेको छ ।पछिल्लो समय उत्तर कोरियाले आणविक हतियार र ब्यालिस्टिक क्षेप्यास्त्रका कार्यक्रम अगाडि बढाइरहेको भन्दै अमेरिकाले उत्तर कोरियामाथि प्रतिबन्ध लगाउनुपर्ने माग राख्दै आएको छ ।