
शहीद सप्ताहको अन्तिम दिन आज (सोमबार) काठमाडौंको लैनचौरस्थित शहीद स्मारकमा ज्ञात अज्ञात शहीदहरुको सम्झनामा स्मृति सभा गरिएको छ । स्मारकमा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शहीद स्तम्भमा पुष्पहार अर्पण गर्नुभएको थियो । त्यसबेला नेपाली सेनाको टुकडीले सलामी चढाएको थियो ।स्मृतिसभा सुरु हुनुअघि शान्ति वाटिकाबाट प्रभातफेरी निकालिएको थियो । उक्त प्रभातफेरीमा उच्चपदस्थ अधिकारी, सुरक्षा निकाय, नेपाल स्काउट र सर्वसाधारणको सहभागिता थियो ।सभामा प्रधानमन्त्री प्रचण्डले शहीदको प्रेरणाबाट जीवित मानिसहरुलाई समृद्धिको बाटोमा लाग्ने प्रेरणा प्राप्त भइरहेको बताउनुभयो । ‘‘शहीदहरुको बलिदानीबाट लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था सम्भव भएको हो । यसलाई संस्थागत विकसित र उत्तरदायी बनाउन तथा राष्ट्रको प्रतिष्ठा र नागरिकको प्रगतिका लागि सबै एक हुनुपर्छ ।,’’ प्रधानमन्त्री प्रचण्डको भनाइ थियो ।शान्त र समृद्ध मुलुक निर्माणको दायित्व सबैले लिएर शहीदको सपना पूरा गर्न लाग्नुपर्ने शहीद सप्ताह मूल समारोह समितिका संयोजक एवम् महानगरका प्रमुख बालेन्द्र साहले बताउनुभयो । ‘‘स्वतन्त्र, स्वाधीन र सार्वभौम मुलुकमा सन्ततिले नागरिक अधिकार उपभोग, शहीदहरुको सपना थियो । त्यो सपना पूरा गर्न हामी सबैले आफ्ना–आफ्ना दायित्व र जिम्मेवारी पूरा गर्नुपर्छ । यसका लागि साझा संकल्पको खाँचो छ ।,’’ प्रमुख साहको भनाइ थियो ।स्मृति सभामा सरकारका उच्च पदस्थ अधिकारीसहित महानगरकी उपप्रमुख सुनीता डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी, कार्यपालिका सदस्य, वडाध्यक्ष, वडा सदस्यसहित सर्वसाधारण सहभागी हुनुहुन्थ्यो ।माफी मागेर शासकसामु झुक्नुभन्दा प्रजातन्त्रका लागि ज्यान सजाय स्वीकार गर्ने चार र अन्य ज्ञात अज्ञात शहीदहरुको सम्झनामा हरेक वर्ष माघ १० गतेदेखि १६ गतेसम्मलाई शहीद सप्ताहका रुपमा मनाइँदै आएको छ । विस २०१२ सालदेखि विद्यमान महानगरको संयोजकत्व गठित समितिले शहीद सप्ताहका कार्यक्रम आयोजना गर्दै आएको छ ।यस वर्ष माघ १० अर्थात् पहिलो दिन शुक्रराज शास्त्रीले सहादत प्राप्त गरेको स्थान, टेकु मचलीमा, दोस्रो दिन १३ गते धर्मभक्त माथेमालाई मृत्युदण्ड दिएको स्थान सिफल र १५ गते विष्णुमती नदी किनारा शोभा भगवतीमा शहीदहरुको सालिकमा पुष्पगुच्छा अर्पण तथा स्मृतिसभा गरिएको थियो । ४ शहीदका सालिकमध्ये २०७५ सालमा शास्त्रीको र २०७६ सालमा माथेमा, श्रेष्ठ र चन्दको पूर्ण कदको सालिक निर्माण गरिएको हो । यी सालिक महेश तुलाधरले निर्माण गर्नुभएको हो ।प्राणदण्ड हुनसक्छ भन्ने जान्दाजान्दै नागरिक स्वतन्त्रताका पक्षमा निर्भीक भएर आवाज उठाउने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दले १९९७ सालमा मृत्युदण्ड पाएपछि उहाँहरुको सपना स्मरण गर्दै शहीद दिवस मनाउने गरिन्छ । राणाशासनको विरोध गर्दै जनतालाई प्रजातन्त्रको पक्षमा एकजुट एवम् शिक्षित गरेको आरोपमा विसं १९९७ साल माघ १० गतेदेखि १५ गतेबीच ४ जना शहीदलाई प्राण दण्ड दिइएको थियो । त्यो वर्षको माघ ७ गते सिंहदरबारमा राजा त्रिभुवन र प्रधानमन्त्री जुद्ध शमशेरसहितको इजलासले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ, दशरथ चन्द र पूर्णनारायण प्रधान गरी पाँच जनालाई सर्वस्वसहित ज्यान सजायको फैसला सुनाइएको थियो । पछि पूर्णनारायणको सजायलाई आजन्म कैदमा परिवर्तन गरियो । यसरी जेल सजाय भोगिरहेकै बेला राणा शासनविरुद्ध देश विदेशमा भएका भूमिकामा नाइके भएको आरोप लगाएर शास्त्रीलाई १९९७ साल माघ १० गते टेकु मचलीस्थित खरिबोटमा र १३ गते धर्मभक्त माथेमालाई सिफल उकालो बकाइनाका रुपमा झुण्ड्याएर प्राणदण्ड दिइएको थियो ।माघ १५ गते शोभा भगवती किनारामा गङ्गालाल श्रेष्ठ र दशरथ चन्द एकले अर्कालाई देख्ने गरेर गोली हानेर कायल गराउन खोजिएको थियो । ज्यानको माया गरेर कायल हुनुभन्दा प्रजातन्त्रका लागि गोली खान तयार भएका उहाँहरुलाई पहिले घुँडाभन्दा तल गोली हानिएको थियो । त्यति गर्दा पनि कायल नभएपछि पछि ज्यान जाने गरी गोली ठोकिएको थियो ।त्यसपछि प्रजातन्त्र र लोकतन्त्र प्राप्तिका लागि भएका राजनीतिक आन्दोलनहरुमा धेरै व्यक्ति शहीद भएका छन् । ती शहीदको सम्मान १ दिनको कार्यक्रमले सम्भव छैन । नागरिक अधिकार सम्पन्न व्यवस्थाका लागि दैनिक आचरण परिवर्तनको खाँचो छ । शहीद दिवसका दिनमा यही सङ्कल्प गर्ने गरिएको छ ।Source:Gorkhapatra




























