
नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले सिंहदरबारभित्र आम सर्वसाधारणलाई सहज भित्र छिर्न पाउनुपर्ने भन्दै सभामुखसँग रुलिङ माग गर्नुभएको छ । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै सांसद ज्वालाले सो माग गर्नुभएको हो ।उहाँले सांसदहरु र उनीहरुका आफन्तहरु मात्रै छिर्न पाउने व्यवस्थाको अन्त्य गरी सेवा लिन मन्त्रालय धाउने सबै सर्वसाधारणलाई सिंहदरबार छिर्न पाउने व्यवस्था गर्न माग गर्नुभयो ।सांसद ज्वालाले भन्नुभयो, ‘‘हामीले संहदरबारको दक्षिण गेट हेर्नसक्छौँ, हामी सांसदहरु, मन्त्रीहरु त्यहीँबाट ओहोरदोहोर गर्छौं, जनता बाहिर हुन्छन्, चिनेजानेको बाहेकले सिंहदरबार छिर्न पाउँदैन, मन्त्रालयहरु सिंहदरबारभित्र र सर्वसाधारण बाहिर हुन्छन्, यस्तो अवस्थाको अन्त्य हुनुपर्छ । जनतालाई प्रताडित गर्नुहुँदैन । सभामुखले आजै रुलिङ गर्नुपर्छ कि सिंहदरबारभित्र जनतालाई सहज प्रवेश गर्ने वातावरण हुनुपर्छ ।’’




























