
काठमाडौं- स्वास्थ्य क्षेत्रमा सुधारका लागि एक आपसमा सहकार्य गर्ने संघ, प्रदेश र स्थानीय तहले प्रतिबद्धता जनाएका छन् ।बिहीबार काठमाडौंमा बसेको स्वास्थ्य मन्त्रालय अन्तर्गतको प्रदेश र स्थानीय तह विषयगत समितिको बैठकमा देशका प्रदेश सरकार तथा गाउँपालिका र नगरपालिका महासंघका प्रतिनिधिहरुले स्वास्थ्यका योजना तथा कार्यक्रममा दोहोरोपना ल्याउन नदिने प्रतिबद्धता जनाएका छन् । बैठकले स्वास्थ्यकर्मी अभावलाई सम्बोधन गर्न समायोजन पुल दरबन्दीमा रहेका स्वस्थ स्वास्थ्यकर्मीलाई प्रदेश तथा स्थानीय तहमा पठाउने निर्णय गरेको छ । यसैगरी, स्थानीय तहमा समायोजन भएका एमडी तथा एमएस विशेषज्ञता हासिल गरेका चिकित्सकलाई प्रदेशभित्र आवश्यक परेको ठाउँमा खटाउन प्रदेश सरकारलाई अधिकार दिनेसमेत निर्णय गरेको छ । बैठकबाट गरिएको १३ बुँदे निर्णयमा दरबन्दी रिक्त रहेका गाउँपालिकाका स्वास्थ्य संस्थामा चिकित्सक व्यवस्थापन गर्न मन्त्रालयले समन्वय र सहजीकरण गर्ने उल्लेख छ । बैठकलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले तीनै तहले आ आफ्नै तरिकाले काम गर्दा दोहोरोपन र नतिजा आउन समेत समस्या भएको अवस्थामा ऐन आएर पनि कार्यान्वयन जान नसकेको समितिलाई गतिशिल बनाउन प्रयास गरेको बताउनुभयो ।मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले तीन तहका सरकारले गर्ने सेवाका बिषयमा सहकार्य गर्दै जनतालाई स्वास्थ्य सेवा दिने कुरामा एकरुपता कायम गर्न बिषयगत समिति गठन भएको बताउनुभयो । उहाले समितिले पूर्णता नपाउदा यसअघि समन्वयनको समस्या देखिएकाले अहिले पूर्णता पाएसंगै बिभिन्न समस्या समाधान हुने जिकिर गर्नुभयो ।विषयगत समितिको बैठकले स्थानीय तहका आधारभूत स्वास्थ्य सेवा केन्द्र र ५, १० तथा १५ शैय्याका अस्पतालको व्यवस्थापन सर्वेक्षण गर्नेसमेत बैठकले निर्णय गरेको छ भने हैजा, डेंगी तथा झाडापखाला लगायतका संक्रामक रोगको महामारी तथा अरु स्वास्थ्य जोखिमसँग जुध्न संघदेखि वडासम्मै द्रुत प्रतिकार्य टोली सक्रिय राख्ने निर्णय गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।




























