
नारायणगढ–मुग्लिन सडक खण्डमा रहेको तुइन खोलामा पुल निर्माण गर्न गत शनिबारदेखि दैनिक चार घण्टा सडक बन्द गर्न सुरु गरिएको छ ।गत वर्ष विस्फोटक पदार्थ प्रयोग गर्ने निर्णय गरी रोकिएको उक्त काम पुनः एक पटक मेसिनकै सहायताले फुटाउन सुरु गरिएको हो । केही दिनअघि बिहान ११ बजेदेखि अपरान्न ३ बजेसम्म चार घण्टा सडक बन्दगरी काम गर्ने निर्णय गरिएको भए पनि शनिबार मात्र सो निर्णयअनुसार काम गरिएको र आइतबारदेखि मध्यान्ह १२ बजे देखि चार बजेसम्म बन्द गर्ने सूचना टाँसगरी सोहीअनुसार काम सुरु गरिएको छ ।नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्ड (नारायणगढ–मुग्लिन) आयोजनाका सूचना अधिकारी कृष्ण अधिकारीका अनुसार तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि सवारी रोकेर काम सुरु गरिएको हो । कठिन भीरमा कडा चट्टान काट्नु पर्ने भएकाले सवारी नरोकी काम गर्न नसकिने हुनाले सडक बन्द गर्नुपरेको उहाँले बताउनुभयो ।उहाँका अनुसार अर्को सूचना जारी नहुँदासम्म पुस महिनाभर दैनिक चार घण्टा सवारी साधन रोकेर उक्त काम नियमित गरिनेछ । यो अवधिमा काम प्रगति के कस्तो हुन्छ त्यसको आधारमा त्यसपछिको काम कसरी गर्ने भन्ने निर्णय गरिने उहाँले बताउनुभयो ।मध्यान्ह १२ बजे काम सुरु हुनेभएकाले चितवनतर्फ नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रुवाहक सवारी साधनलाई १५ किलो भन्ने स्थानदेखि जुगेडीसम्म र मालवहाक सवारीसाधन भतेरी जङ्गलदेखि रामनगरसम्म रोक्ने गरिएको छ ।काठमाडौँबाट चितवनतर्फ आउने सवारी साधनमध्ये यात्रुवाहकलाई मुग्लिन बजार र मालवाहकलाई लेवाटारमा रोक्ने गरिएको छ । त्यस्तै, पोखरातर्फबाट आउने यात्रुवाहक सवारी साधनलाई मुग्लिनपूर्व बेनीटार क्षेत्रमा र मालवाहक सवारी साधनलाई आबुँ खैरहनी बजारक्षेत्र प्रवेशपूर्व सत्रसय फाँटमा रोक्ने गरिएको छ ।




























