काठमाडौं । बिभिन्न पार्टीमा आबद्ध पुराना कम्युनिष्ट नेताहरुले पार्टी परित्याग गरी आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन् । आजपाको काठमाडौं स्थित पार्टी केन्द्रीय कार्यालयमा आज बिभिन्न पार्टी परित्याग गरी नेताहरु आजपामा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले पार्टीमा स्वागत गरेका छन् । पुरानो वामपन्थी नेता भाईकाजी सापकोटा, गुरू बालकृष्ण अचार्य, युवा नेता राहुल बुढामगर, भरत श्रेष्ठ, लक्ष्मी दाहाल सहित दर्जनौं अगुवा नेताहरु विभिन्न पार्टी परित्याग गरी विधिवत रुपमा आजपामा प्रवेश गरेका हुन् । देशमा विद्यमान सबैखाले बेथीति, भ्रष्टाचार र वर्तमान संकट समाधान गर्दै मुलुकलाई अग्रगमनको दिशामा अगाडि बढाउने संकल्प सहित आजपामा दिनानुदिन प्रवेशको लहर बढ्दै गएको छ ।यसैबीच आजै आजपा निकटको आम जनजाती महासंघको केन्द्रीय समितिको बिस्तारित बैठक सम्पन्न भएको छ । भक्तपुरको सूर्यबिनायक स्थित शुभकामना पार्टी प्यालेसमा सम्पन्न महासंघको बैठकले पहिचान र अधिकारको मुद्धालाई जोडदार ढंगले उठाउँने निर्णय गरेको छ । आजपा अध्यक्ष प्रभु साहको प्रमुख आथित्यमा महासंघको बैठकले पहिचान र अधिकारका लागि चैत २४ गते काठमाडौंमा जनप्रदर्शन गर्ने निर्णय समेत गरेको छ । जनआन्दोलन दिवसको अवसरमा भ्रष्टाचार एवं लुटकारी ब्यवस्थाको बिरुद्धमा आजपाद्धारा चैत्र २४ गते काठमाण्डौंमा हुने जनप्रदर्शनलाई प्रभावकारी बनाउने प्रतिबद्धता समेत बैठकले व्यक्त गरेको छ ।