काठमाडौं । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) बैशाख ९ गतेबाट सञ्चालन हुने भएको छ । कोरोना महामारीका कारण विगत दुई शैक्षिक सत्र विद्यालयको आन्तरिक मूल्याङ्कनबाटै सञ्चालन भएको एसईई यो वर्षबाट पुनः विगतको जस्तै परीक्षा केन्द्रहरूमार्फत् सञ्चालन हुन लागेको हो ।यसपालिको एसईई यही वैशाख ९ गतेदेखि सामान्य अवस्थामा सञ्चालन गर्न लागिएको राष्ट्रिय परिक्षा बोर्डले जानकारी दिएको छ । बोर्डले तयार पारेको प्रश्नपत्रका आधारमा देशभरका २ हजार ७ परीक्षा केन्द्रमा दुई वर्ष पहिलाको जस्तै गरी एसईई सञ्चालन हुने बोर्डका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए ।परीक्षामा ५ लाख १४ हजार ७ सय ६० जना सहभागी हुनेछन् । उनका अनुसार प्रश्नपत्र, उत्तरपुस्तिकालगायत परीक्षा सामग्री ७७ वटै जिल्लामा पुगिसकेको छ । नियमिततर्फ ४ लाख ८८ हजार ७ सय ४२ र ग्रेड वृद्धितर्फ ११ हजार ४ सय ५४ विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ ।ग्रेड वृद्धि परीक्षा दिने विद्यार्थी दुई वर्षअघिका हुन् । शैक्षिक सत्र २०७६ र २०७७ मा कोरोना महामारीका कारण विद्यालयले गरेको आन्तरिक मूल्यांकनकै आधारमा राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको थियो ।