काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाभित्र ट्राफिक नियम उल्लङ्घन गर्ने आठ लाख बढी सवारीचालकलाई कारबाही गरेको छ । चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म काठमाडौँ, भक्तपुर र ललितपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने आठ लाख चार हजार दुई सय ७२ सवारीचालकलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले कारबाही गरेको हो ।लेन अनुशासन, तीव्र गति, मादक पदार्थ सेवन, जथाभावी हर्नलगायत विभिन्न कसुरमा ती सवारीचालकहरुलाई कारबाही गर्दा ५७ करोड ८४ लाख १९ हजार राजस्व सङ्कलन गरिएको कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठले जानकारी दिए ।कारबाही गरिएकामध्ये लेन अनुशासनमा ५० हजार सात सय एक, मादक पदार्थ सेवन गरी सवारी चलाउने ३२ हजार ८३, तीव्र गतिमा सवारी चलाउने एक लाख आठ हजार आठ सय ३४, रातो बत्ती बलेको बेला सवारी चलाउने २६ हजार एक सय ३६ सवारीचालक रहेका छन् ।फुटपाथमा सवारी पार्किङ गर्ने एक लाख पाँच हजार पाँच, ट्राफिक एपबाट एक हजार दुई सय २४, बढी भाडा लिने तीन सय सात, जथाभावी हर्न बजाउने आठ हजार सात सय ९९ सवारीचालक कारबाहीमा परेका छन् ।प्रवक्ता श्रेष्ठले अवस्था ठीक नभएको ५६ हजार पाँच सय १४, ओभरलोड पाँच हजार पाँच सय ७८, क्युआरटीमार्फत ८२ हजार नौ सय ८४, सिसिटिभीबाट ५३ हजार चार सय ६६ सवारीचालकलाई कारबाही गरिएको बताए ।ट्राफिक कार्यालयले ह्विल लकमार्फत २० हजार एक सय ६४, सवारी साधनबाट निस्कने प्रदूषणमा एक हजार तीन सय २२, जेब्राक्रसमा तीन सय ४८ जनालाई कारबाही गरेको छ । सो अवधिमा कार्यालयले मापसे, लेन र रातोबत्ती क्रस गर्ने दुई लाख एक हजार दुई सय ५४ चालकलाई ट्राफिक जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।उपत्यका ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न विद्यालयका २५ हजार तीन सय २७ विद्यार्थी, ५८ हजार पाँच सय ४७ सर्वसाधारण तथा पैदलयात्री, ४१ हजार नौ सय ६२ चालक तथा सहचालकलाई ट्राफिक जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिसकेको जनाएको छ ।काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापनका लागि प्रहरी नायब महानिरीक्षक (डिआइजी)को नेतृत्वमा एक हजार आठ सय ट्राफिक प्रहरी उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट परिचालित छन् । हाल देशभर ३० लाखभन्दा बढी सवारी साधन सञ्चालन मध्ये काठमाडौँ उपत्यकामा मात्र १२ देखि १५ लाख सवारी साधन सञ्चालनमा छन् ।