काठमाडौं : काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रको फुटपाथ विस्तारको काम पुन: सुरु गरेको छ। उच्च अदालत पाटनबाट आदेश आएसँगै महानगरपालिकाले न्यूरोडमा सडक भत्काएर बुधबारबाट फुटपाथ विस्तारको काम थालेको हो।
उच्च अदालत पाटनले न्यूरोडमा फुटपाथ विस्तारको काम नरोक्न अन्तरिम आदेश दिएपछि महानगरले बुधबारदेखि पुनः काम सुरु गरेको हो । यसअघि काठमाडौँ महानगरले न्यूरोडमा फुटपाथ विस्तारका लागि सडकको कालोपत्रे काटेको थियो ।
त्यसपछि सडक डिभिजन कार्यालयले हस्तक्षेप गरी महानगरले काटेको कालोपत्रे टालेको थियो । सडक डिभिजन कार्यालयको हस्तक्षेपको विरोधमा महानगरले उच्च अदालत पाटनमा रिट दिएको थियो । सो रिटमा सुनुवाइ गर्नुहुँदै उच्च अदालत पाटनका न्यायाधीशद्वय नन्द र खरेलले शहरी सडक स्थानीय तह मातहतमा रहने भन्दै न्यूरोडमा फुटपाथ विस्तारको काम नरोक्न अन्तरिम आदेश दिनुभएको थियो ।