
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राज्यको सर्वाङ्गिण विकासमा युवाहरूको विशेष योगदानका लागि उपयुक्त अवसर प्रदान गर्ने नीति आवश्यक रहेको बताउनुभएको छ ।अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित युवा सम्मेलन, २०२४ लाई सम्वोधन गर्दै राष्ट्रपति पौडेलले संघीयता, सूचनाप्रविधिको विकास तथा बदलिदो सामाजिक परिवेशअनुसार परिवर्तन भएका युवाका आवश्यकता र भावनालाई सम्बोधन गर्ने गरी नयाँ नीतिको आवश्यकता रहेको स्पष्ट पार्नुभयो । दिनानुदिन विदेश पलायन भैरहेको युवा शक्तिलाई नेपालमै रोकेर राष्ट्र निर्माणमा कसरी प्रयोग गर्ने भन्ने कुरा आज धेरै गम्भिर बनेर आएको उहाले बताउनुभयो ।उहाले नेपालमा भएका प्राकृतिक संभावनाहरुलाई समुचित ढंगले उपयोगमा ल्याउन सके नेपालले समृद्धिका लागि कतै भौतारिन नपर्ने धारणा राख्नुभयो । राष्ट्रपति पौडेलले युवा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणका अग्रदुत, परिवर्तनका संवाहक साथै राष्ट्रको अमूल्य सम्पत्ति भएको उल्लेख गर्नुभयो । राष्ट्रपति पौडेलले परिवर्तित विश्व परिवेश, विज्ञान प्रविधिमा आएको नविनतम विकासको सन्दर्भमा युवासम्बद्ध समस्या तथा चुनौतीहरूलाई सम्बोधन गर्न आवश्यक रहेको बताउनुभयो ।त्यस्तै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले समृद्ध मुलुक बनाउनका लागि युवाहरुको भूमिका अपरिहार्य रहेको बताउनुभयो । उहाले नेपालमा १६ देखि ४० बर्ष उमेर समूहको जनसंख्या ४२ दशमलव ५६ रहेको भन्दै युवा परिचालनलाइ प्रविधिसंग जोडेर राष्ट्र निर्माणमा जुट्नुपर्ने उल्लेख गर्नुभयो ।त्यस्तै राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले संविधानमा मौलिक हकको रुपमा रहेको शिक्षा, स्वास्थ्य र रोजगारको व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्न बाँकी रहेकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । उहाले नेपाली जनशक्तिलाई नेपालमा परिचालन गर्नका लागि उद्यमशिलताको वातावरण तयार गर्नुपर्नेमा जोड दिनुभयो ।अगष्त १२ लाई हरेक वर्ष विश्वव्यापी रुपमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउदै आएको छ । नेपालमा भने पहिलो पटक सन् २००४ देखि यो दिवस मनाउन थालिएको हो । नेपालमा यसवर्ष ‘दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि ः डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि’ भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको हो ।




























