
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको रक्षा, लोकतन्त्रको सुदृढीकरणका लागि मिलेर अघि बढ्न आफु तयार रहेको बताउनुभएको छ ।प्रतिनिधिसभाको बुधबारको बैठकमा संक्रमणकालीन न्यायसंगसम्बन्धी विधेयकमाथिको छलफलमा प्रचण्डले जनताको अधिकारलाई थप बलियो बनाउदै संविधानको रक्षा, लोकतन्त्रको सुदृढीकरणका लागि एकताको हतियार बाहेक अरु बिकल्प नरहेको भन्दै आफु मिलेर अघि बढ्न आफु तयार रहेको बताउनुभएको हो । समाजमा अराजकता फैलाउने प्रवृतिले टाउको उठाउन कोशिस गररहेकोले त्यसको प्रतिवाद गर्न लोकतन्त्रमाथि विश्वास गर्नेहरु समझदारीका साथ अघि बढ्न जरुरी रहेको उहाले बताउनुभयो ।त्यस्तै प्रचण्डले संविधान संशोधनको नाममा वा राजनीतिक स्थिरताका नाममा फेरि केही सीमित वर्ग क्षेत्र, भूगोल र स्वार्थमा शासन प्रणाली सञ्चालन गर्न नहुनेमा जोड दिनुभयो । उहाले पछिल्ला राजनीतिक घटना क्रममा आशंका गर्ने ठाँउ देखिएको र बहुदलीय व्यवस्थाको सट्टा दुई दलीय बनाउन लागिएको हो भन्ने प्रश्न गर्नुपर्ने अवस्था आएको जिकिर गर्नुभयो ।प्रचण्डले शान्ति सम्झौताका हस्ताक्षरकर्ता गिरिजा प्रसाद कोइराला नरहेपछि अर्का हस्ताक्षरकर्ता आफु शान्ति प्रक्रियाको मर्मलाई मर्न नदिन अन्तिमसम्म पनि लागिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यस्तै उहाले जनयुद्धलाई नेताहरुले हिंसात्मक द्वन्द्व भनि सम्बोधन गरेको भन्दै आपत्ति जनाउदै संविधानसभाको व्याख्यात्मक टिप्पणीलाई नविर्सन आग्रह अनुरोध गर्नुभयो ।प्रचण्डले तत्कालिन अवस्थामा आफ्नो पार्टी विभाजन भएर पनि देशमा शान्ति स्थापना भएकोमा आफूलाई गर्व रहेको जिकिर गर्नुभयो । जनयुद्धको राजनीतिक इमान नै शान्ति प्रक्रिया सफल हुनुको मुख्य कारण रहेको उहाको भनाइ छ । उहाले नेपालको शान्ति प्रक्रिया विश्वकै अनुपम रहेको समेत बताउनुभयो ।




























