रूपन्देही । नेपाली कांग्रेस छाडेका रूपन्देहीका नेता तथा पूर्वक्षेत्रीय सभापति मातृकाप्रसाद यादव जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरेका छन् ।शुक्रबार लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सहसराम यादवले उनलाई पार्टी प्रवेश गराएका हुन् ।स्थानीय तहको टिकट वितरणमा नेपाली कांग्रेसले पुरानो नेतालाई भन्दा नवप्रवेशीलाई प्राथमिकता देखाएको भन्दै उनले पार्टी परित्याग गरेका थिए । भैरहवास्थित सिद्वार्थनगर नगरपालिकामा यादव कांग्रेसबाट मेयरका आकांक्षी थिए ।गत स्थानीय तहको निर्वाचनमा पनि सिद्धार्थनगर नगरपालिकाको प्रमुख पदको उम्मेदवार भइ उनी पराजित भएका थिए । पार्टीको क्षेत्रीय अधिवेशनमा पनि उनी क्षेत्रीय सभापति पदमा पराजित भए ।उनी कांग्रेसबाट अघिल्लो निर्वाचनमा पनि प्रत्यासी थिए । यादव जसपा प्रवेश गरेपछि उनी अब सोही पार्टीबाट नगर प्रमुख पदको उम्मेदवार हुने जनता समाजवादी पार्टीका नेता किस्मत विश्वकर्माले जानकारी दिएका छन् ।