
काठमाडौं । नेपाली कांग्रेसले पार्टीबाट सरकारमा गएका मन्त्रीहरूलाई सातामा दुई दिन खुला भेटघाट गर्न निर्देशन दिएको छ ।बैठक पश्चात् जानकारी दिँदै प्रमुख सचेतक श्याम घिमिरेले पालैपालो मन्त्रीले जनता र कार्यकर्ताको गुनासो पार्टी अफिसमा गएर सुन्न निर्देशन दिइएको बताए ।दुई दिन जनताका कुरा सुनेर पाँच दिन ती कुराको सम्बोधन हुनेगरि काम गर्न उनले मन्त्रीहरूलाई निर्देशन दिएका हुन्। ‘सभापतिज्यूले हामीलाई तपाईंहरू पाँच दिन मन्त्रालयको काम गरेर दुई दिन मात्र सर्वसाधारण र नेता कार्यकर्ताका लागि समय दिनुहोला भन्नु भएको छ। हामीले मन्त्रालयगतरूपमा आ-आफ्ना कमको ब्रिफिङ गर्यौं,’ देउवालाई उदृत गर्दै कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरासीयाले भने।उनले मन्त्रीहरूले काम गर्न गरेको प्रयासप्रति पार्टी सन्तुष्ट रहेको भन्दै यो गठबन्धन सहमतिअनुसार पूरा कार्यकाल चल्ने दाबी गरे ।सरकारले ल्याएको अध्यादेश कांग्रेसकै सहमतिमा ल्याएको भएकाले कुनै असन्तुष्टि नरहेको पनि बताए । उनले केही नेताहरूले राखेको विचार व्यक्तिगत भएकाले पार्टीको आधिकारिक धारणा नभएको बताए ।



























