
काठमाडौं । रुपन्देही जिल्ला अदालतमा सुप्रिम सहकारी ठगी प्रकरणको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेको बहस सुरु भएको छ ।जिल्ला अदालत रूपन्देहीमा न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा लामिछानेलाई थुनामा पठाउने कि बाहिरै रहेर मुद्दाको पुर्पक्ष गर्ने दिने भन्ने विषयमा वकिलहरूले बहस गर्नेछन्।बुधबार बयान मात्रै सकिएर थुनछेक बहस नभएपछि उनलाई परिवार र वकिलको जिम्मा जमानीमा छाडिएको थियो । सोही अनुसार लामिछाने बिहीबार अदालतमा उपस्थित भएका हुन् । उनको मुद्दा जिल्ला न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा रहेको छ ।पक्ष-विपक्षका वकिलहरूले बहस गरेपछि आदेश आउने छ । बहस आजै सकिने वा नसकिने भन्न नसकिने श्रेस्तेदार ज्ञवालीको भनाइ छ ।लामिछानेसहित २२ जनाविरुद्ध ६ माघमा पूरक अभियोजन दर्ता भएको थियो । उनीहरूलाई ठगी र संगठित अपराध कसुरको मुद्दा लगाइएको छ ।रूपन्देहीबाट बुटवल बारका अध्यक्ष गोविन्द मरासिनीले पनि लामिछानेको पक्षमा बहस गर्ने बताइएको छ।सुप्रिम सहकारीको बचत अपचलन मुद्दाका लागि लामिछाने बुधबार अदालतमा उपस्थित भएका थिए।




























