रौतहट । चुनाव सकिएको एकसाता बित्न लाग्यो। जिल्लाको धेरै पालिकाको टोलटोलमा प्रचारका लागि टागिएका झण्डाहरु अलपत्र छन्। बजार टोल नै झण्डा, ब्यानरले छोपे जतिकै छ।चन्द्रपुरका सडक किनारका बिजुलीका पोल, रुखमा पनि राता, सेता झण्डा हजारौं टागिएका थिए। तर रौतहटको चन्द्रपुर नपा ४ का नेकपा माओवादी केन्द्रका वडाअध्यक्षका उम्मेद्वार डिमकुमार दुलालले वडाका विभिन्न टोलमा राखेको झण्डा निकाल्ने अभियान थालेका छन्।जितेकाहरु विजय जुलुसमा छन्। भोजमा, खुशी साटासाटमा छन् तर हारेका यी उम्मेद्वार भने मतदातालाई धन्यवाद दिंदै झण्डा संकलनमा व्यस्त छन्।दुलालले भने, 'चुनाव हारे पनि चन्द्रपुरको मुख्य बजार रहेको वडालाई सफा र सुन्दर बनाइराख्ने दायित्व हामी सबैको हो।' मुख्य चोक बजार रहेको वडामा नेकपा माओवादी केन्द्रले राखेको झण्डा, ब्यानर हटाउन लागेको दुलालले बताए।आफ्ना शुभचिन्तकसहित बिहीबारदेखि नै उम्मेद्वार दुलाल यो अभियानमा छन्। पछि पनि झण्डा काम लाग्ने र चोक, बजार सफा पनि देखिने भएकाले चुनावमा राखिएका सामाग्री हटाउन नेता कार्यकर्ताहरुलाई सुझाउ दिएको नेकपा माओवादी केन्द्रका रौतहट इन्चार्ज तथा केन्द्रीय सदस्य युवराज भट्टराईले बताए।सबै पार्टीले यसरी नै झण्डा, व्यानर हटाएर बजार सफा बनाउनु पर्ने सर्वसाधारणको समेत सुझाव रहेको छ।