काठमाडौं । देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको गढ रहेको क्षेत्र हो, प्रदेश नम्बर १ c यो एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस नेता कृष्णप्रसाद सिटौला, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, कांग्रेस नेता शशांक कोइराला, मिनेन्द्र रिजाललगायत शीर्ष नेताको चुनावी क्षेत्र पनि हो । तर, यो क्षेत्रमा चुनावी परिणाम भने रोचक देखिएको छ ।एमाले अध्यक्ष ओलीको गृह नगर दमकको नेतृत्व राप्रपाले लिएको छ । प्रदेश नम्बर १ का स्थानीय तहमा नेपाली कांग्रेस पहिलो बनेको छ । १३७ पालिका रहेको प्रदेश १ को अद्यावधिक परिणामअनुसार कांग्रेसले ६३ वटा पालीका प्रमुखमा विजयी हाँसिल गरेको छ । यस्तै, नेकपा एमालेले ४१ वटा स्थानमा प्रमुख पदमा निर्वाचित भएको छ ।नेकपा एकीकृत समाजवादी भने सूर्योदय नगरपालिकामा मात्रै प्रमुख पद प्राप्त गरेको छ । यो झलनाथ खनालको क्षेत्र हो । सूर्योदयमा समाजवादीका रनबहादुर राई विजयी भएका छन् । उनी यसअघि २०७४ मा पनि मेयरमा निर्वाचित भएका थिए ।भोजपुर र ओखलढुंगामा एक/एक स्थान स्वतन्त्रका उम्मेदवारले जितेका छन् । भोजपुरको साल्पासिलिछो गाउँपालिकामा स्वतन्त्रतर्फका दौलथकुमार कुलुङ (राई) निर्वाचित भएका छन् । यस्तै, ओखलढुंगाको मानेभञ्ज्यागंमा पनि स्वतन्त्रतर्फका ज्ञानेन्द्र रुम्दाली विजयी भएका छन् ।राप्रपाले प्रदेश १ का दुई पालिकाको नेतृत्व लिएको छ । राप्रपाले एमाले अध्यक्ष केपी शर्मा ओलीको गढ मानिएको दमक नगरपालिकामा विजयी भएको छ । यस्तै, झापाको हल्दीवारीमा राप्रपाका रवीन्द्र लिङ्देन विजयी भएका छन् । यो स्थानमा राप्रपाले उपाध्यक्ष पनि जितेको छ । यहाँ उपाध्यक्षमा लक्ष्मीदेवी निरौला विजयी भएकी छन् ।जनता समाजवादी पार्टीले यो प्रदेशमा दुई पालिकाको नेतृत्व लिएको छ । ओखलढुंगाको खीजीदेम्बा गाउँपालिका र सुनसरीको देवानगञ्ज गाउँपालिकामा जसपाले नेतृत्व लिएको छ । खीजीदेम्बामा गम्बु शेर्पा र देवागञ्जमा वेचनप्रसाद मेहता निर्वाचित भएका छन् ।यो प्रदेशको एक मात्र महानगर विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेश कोइराला विजयी भएका छन् भने उपयमेयरमा शिल्पा कार्की विजयी भएकी छन् । यस्तै, इटहरी उपमहानगरमा मेयरतर्फ कांग्रेसका हेमकर्ण पौडेल र उपमेयरमा एमालेका संगीता कुमारी चौधरी विजयी भएकी छिन्।धरान उपमहानगरमा स्वतन्त्रका हर्क साम्पाङ राइले अग्रता कायम गरिरहेका छन् । यहाँ अब ४ हजार मत मात्रै गन्न बाँकी छ ।