काठमाडौं । बलिउड अभिनेता सलमान खान र उनको टिमले यही शनिबार १४ जेठमा काठमाडौंको दशरथ रंगशालामा प्रस्तुत गर्ने भनिएको ‘दब्याङ रिलोडेड टुर’ कार्यक्रम स्थगित भएको छ ।नेपालमा सलमान खानको कार्यक्रम स्थगित भएको यो नै पहिलो पटक हैन । आधा दशक अघि पनि सलमानको कन्सर्ट तयारी अन्तिम चरणमा पुगेर सुरक्षाको कारण देखाउँदै रोकिएको छ ।यस पटक भने टिकट बिक्री नभएका कारण कार्यक्रम स्थगित गर्नु परेको आयोजक पक्षले जनाएको छ । आयोजक संस्था ओडीसी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सीमान्त गुरुङले ‘द ब्याङ रिलोडेड टुर’ रोकिएको बताएका छन् ।कार्यक्रम रोकिनुको कारण’bout उनले टिकट बिक्री सोचे अनुसारको नभएका कारण कार्यक्रम घाटामा जाने भएपछि रोक्नु परेको बताएका छन्,‘स्थानीय चुनावको कारण टिकट बिक्रीमा प्रभाव परेको र वर्षात्को समय सुरु भएकाले कार्यक्रम गर्न असहज हुने भएपछि स्थगित गरिएको छ ।’ गुरुङले भने,‘चुनावको कारण टिकट सोचेअनुसार बिक्री हुन पाएन र पानी पर्ने सिजन पनि सुरु भयो’अहिले स्थागित भएको यो कन्सर्ट अनुकूल समयमा आयोजना गरिने र अर्को मिति चाँडै घोषणा गरिने पनि आयोजक गुरुङले बताएका छन् ।सिमान्तका अनुसार उनले सलमानको टिमलाई सबै पारिश्रमिक दिईसकेका छन् । यहाँको तयारीका लागि पनि त्यत्तिकै खर्च भएको छ । कलाकारको पारिश्रमिक, लाइट, साउन्ड र स्टेज व्यवस्थापनमा करिब ८ करोड रुपैयाँ खर्च भइसकेको उनले बताएका छन् । यो कार्यक्रमका लागि सलमानले मात्र ४ करोड ८० लाख रुपैयाँ पारिश्रमिक लिने बताईएको छ ।सलमान शुक्रबार नेपाल आएर आईतबार फर्कने कार्यक्रम थियो । उनलाई पर्यटन मन्त्री प्रेमबहादुर आलेले नेपालका विभिन्न पर्यटन क्षेत्रमा घुमाउने तयारी गरिरहेका थिए । नेपालको पर्यटन प्रवर्धनमा सलमानको भ्रमण सार्थक मानिने मन्त्रीले बताउँदै आएका थिए ।