
नेपालका परम्परागत राजनीतिक दलका केही नेताहरू बालेन शाहको सम्भावित चुनावी सफलतालाई युक्रेन–रूस युद्धसँग तुलना गर्दै नेपाल युक्रेन बन्छ भन्ने दाबी गरिरहेका छन् । यो दाबी कति सत्यको नजिक छ त ? वास्तवमा यो दाबी सतहमा भूराजनीतिक चिन्ताजस्तो देखिए पनि, गहिराइमा विश्लेषण गर्दा यो भूराजनीतिक यथार्थभन्दा राजनीतिक मनोविज्ञानमा आधारित डरको कथा fear narrative रचना मात्र हो । नेपालको आगामी मार्च ५, २०२६ को आम निर्वाचन नजिकिँदै गर्दा, पुराना राजनीतिक दलहरूका नेताहरूले काठमाडौंका पूर्व मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहलाई युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग तुलना गरिरहेका छन् । उनीहरूको मुख्य दाबी के छ भने यदि बालेन चुनाव जितेर प्रधानमन्त्री बने भने नेपाल युक्रेन जस्तोु युद्धग्रस्त क्षेत्र बन्न सक्छ अर्थात् अमेरिकी प्रभावमा परेर चीन र भारतसँगको सम्बन्ध बिग्रिएर भूराजनीतिक द्वन्द्व निम्तिने संभावना छ । यो दाबी मुख्य रूपमा एमाले जस्ता पुराना दलहरू र अन्य कम्युनिष्ट दलहरुबाट आएको छ । अव यिनीहरुले गगन थापालाई पनि यही कोटरीमा राखेका छन । यिनीहरुले बालेन र रवि लामिछानेको गठबन्धनलाई अस्थिरता निम्त्याउने षड्यन्त्र भनेका छन् । साथै उनीहरुले बालेनलाई नयाँ जेलेन्स्कीु भन्दै भारत विरोधी र ग्रेटर नेपालु दाबी समर्थक भनेर चित्रण गरिएको । यसलाई कलर रिभोलुसन अमेरिकी समर्थित विद्रोहको रूपमा हेर्नेहरूले नेपालको अन्तरिम सरकारलाई पनि युक्रेनको २०१४ को घटनासँग तुलना गरेका छन् ।यो दाबी कत्तिको सम्भव छ ? नेपालको सेनामा अमेरिकाको प्रभाव बढ्दै गए पनि, भारतको ऐतिहासिक सम्बन्ध गोरखा भर्ती, प्रशिक्षण र चीनको बढ्दो लगानी BRI परियोजना दुवै बलिया छन् । युद्धको अवस्था आउनु भनेको ती दुवै छिमेकीहरूको हित विपरीत हुन्छ किनकि नेपाल उनीहरूको बफर जोन हो । बालेन जिते पनि पुराना दलहरू प्रतिपक्षमा रहन्छन्, जसले नीति परिवर्तनलाई सन्तुलित राख्छ । यो मुख्य रूपमा पुराना नेताहरूको डरबाट आएको राजनीतिक प्रचार हो, जसले नयाँ पुस्ताको उदयलाई रोक्न खोजेको देखिन्छ ।नेपाल एक सन्तुलित भूराजनीतिक नीति balanced foreign policyअपनाउने देश हो। ऐतिहासिक रूपमा नेपालले भारत, चीन र पश्चिमा शक्तिहरूसँग असंलग्नताको नीति अपनाउँदै आएको छ। नेपाली सेना स्वयं संवैधानिक, संस्थागत र बहु–प्रभावयुक्त संरचना हो । जहाँ कुनै एक विदेशी शक्तिको पूर्ण नियन्त्रण सम्भव छैन । यस अर्थमा अमेरिकाबाट परिचालित नेता आएपछि भारत वा चीनले आक्रमण गर्छन् भन्ने तर्क चुनावमा दवाव सृजना गर्ने सरलिकृत षड्यन्त्र सिद्धान्त मात्र हो।यहाँ थाहा हुनुर्पे कुरा के हो भने नेपालमा सत्ता सञ्चालन एक व्यक्तिमा केन्द्रित हुँदैन । बालेन शाह जस्तो व्यक्तिले चुनाव जिते पनि संसदमा पुराना दलहरू शक्तिशाली प्रतिपक्षका रूपमा रहनेछन् । युद्ध, सैन्य गठबन्धन वा परराष्ट्र नीतिजस्ता संवेदनशील विषयहरू कार्यपालिका, विधायिका, सेना र कूटनीतिक संयन्त्रको सामूहिक निर्णय बिना सम्भव हुँदैनन् । त्यसैले कुनै एक व्यक्तिको उदयले राज्यलाई युद्धतर्फ धकेल्ने भन्ने मान्यता संवैधानिक संरचनालाई नै नबुझेको निष्कर्ष हो ।
बालेन शाहले जिते भने नेपाल युक्रेन बन्छ भन्ने कथनलाई भूराजनीतिक विश्लेषणभन्दा बढी पुराना सत्ताधारी वर्गको असुरक्षा, सत्ताच्युत हुने डर र परिवर्तनप्रतिको प्रतिरोधको रूपमा जनताले बुझ्नुपर्छ। यस्तो डरको राजनीति जनताको परिवर्तनको चाहनालाई अवैज्ञानिक भय देखाएर नियन्त्रण गर्ने प्रयास हो न कि राष्ट्रहितमा आधारित चिन्ता । यसकारण यो दाबी नत अन्तर्राष्ट्रिय सम्बन्धको सिद्धान्तसँग मेल खान्छ नत नेपालको ऐतिहासिक र संस्थागत यथार्थसँग नै । यो राजनीतिक प्रचार मात्र हो । भूराजनीतिक सत्य होइन ।
#punyaprasai




























