
दाङ । दाङको तुलसीपुर उप–महानगरपालिका–५ स्थित बिरेन्द्र चोकमा भएको झण्डा जलाउने घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले घटनामा संलग्न रहेको आरोपमा दाङको तुलसीपुर उपमहानगरपालिका-७ कालाखोलाका ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई शुक्रबार नियन्त्रणमा लिएको हो ।गएराति दाङको तुलसीपुरमा रास्वपाका कार्यकर्ताले एमालेको चुनाव चिन्ह ‘सूर्य’ अंकित झण्डा जलाएको भन्दै पार्टीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै भर्त्सना गरेको हो। फागुन ७ गते बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई स्वागत गर्न उपस्थित भीडमा केही अपरिचित व्यक्तिहरुले नेकपा (एमाले) को चुनाव चिन्ह अङ्कित झण्डा जलाइको भिडियो सामाजिक सञ्जालमार्फत प्राप्त भएको प्रहरीले जनाएको छ ।एमालेले आफू अनुशासित पार्टी भएको तर संयमतालाई कमजोरी नठान्न चेतावनी समेत दिएको छ। घटनामा संलग्नहरूको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण समेत एमालेले गराएको छ ।
प्रहरीले निर्वाचनको समयमा शान्ति सुरक्षा र सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न तथा संयमित र जिम्मेवार व्यवहार प्रदर्शन गर्न सबै पक्षलाई आग्रह गरेको छ।




























