
पुण्य प्रसाई
कांग्रेसको हारलाई लिएर धेरै भावनात्मक प्रतिक्रिया आइरहेका छन् तर एउटा कुरा स्पष्ट बुझ्नुपर्छ, यो पराजय गगन थापाको एक महिनाको नेतृत्वको परिणाम होइन । यो पन्ध्र वर्षदेखि जमेको असन्तुष्टि, गलत अभ्यास र नेतृत्वको विफलताको परिणाम हो । त्यसैले अहिले गगन थापाले भावावेशमा आएर सभापतिबाट राजीनामा दिनु समाधान होइन, झन् ठूलो भूल हुनेछ । नेतृत्वको अर्थ सजिलो समयमा कुर्सी सम्हाल्नु मात्र होइन, कठिन समयमा पनि अगाडि उभिनु हो । अहिले कांग्रेसलाई भाग्ने नेता होइन, टिकेर लड्ने नेता चाहिएको छ । जनताले पुराना अभ्यासहरूलाई अस्वीकार गरेका छन्, तर त्यसको अर्थ कांग्रेस समाप्त भयो भन्ने होइन । यसको अर्थ कांग्रेसले आफूलाई पुनर्निर्माण गर्नुपर्छ भन्ने हो ।
गगन थापाले अब हार मानेर होइन, अझ दृढ भएर अगाडि बढ्नुपर्छ । पार्टीभित्रको भ्रष्ट अभ्यास अन्त्य गर्ने, टिकट किनबेचको संस्कृति रोक्ने, योग्य र इमानदार युवाहरूलाई पार्टीमा ल्याउने, संगठनलाई खुला र लोकतान्त्रिक बनाउने, यही उनको ऐतिहासिक जिम्मेवारी हो । कांग्रेस कमजोर हुनु भनेको केवल एउटा पार्टी कमजोर हुनु होइन, लोकतन्त्र नै कमजोर हुनु हो । त्यसैले अहिले कांग्रेसका कार्यकर्ताहरूले निराश भएर बस्ने समय होइन । अझ इमानदार भएर संगठन निर्माण गर्ने समय हो । राजनीतिमा हार अन्तिम हुँदैन । इतिहासले देखाएको छ, संघर्ष गर्नेहरू फेरि उठ्छन् ।नेपाली कांग्रेसको पछिल्लो निर्वाचन परिणामलाई केवल एउटा चुनावी हारका रूपमा बुझेर छिटो निष्कर्ष निकाल्नु उचित हुँदैन। यो परिणाम वास्तवमा नेपाली राजनीतिमा लामो समयदेखि जम्दै आएको असन्तोषको विस्फोट हो। त्यसैले यो क्षण केवल निराशा वा आत्मसमर्पणको क्षण होइन, गम्भीर आत्मचिन्तन र पुनर्निर्माणको क्षण हो। यस्तो अवस्थामा नवनिर्वाचित सभापति गगन थापाले नैतिकताको आधारमा राजीनामाको कुरा गर्नु उनको संवेदनशीलता र जिम्मेवारीबोधको संकेत हुन सक्छ तर रणनीतिक दृष्टिले यो निर्णय सही हुने सम्भावना कम देखिन्छ। किनभने अहिलेको पराजय कुनै एक महिनाको नेतृत्वले जन्माएको परिणाम होइन। यो पन्ध्र वर्षभन्दा बढी समयदेखि तयार हुँदै आएको राजनीतिक वातावरणको परिणाम हो। अािहले नेपाली कांग्रेसको जति मत आएको छ त्यो गगनको कारणले अडिएको हो नत्र नयाँ शक्तिको सुनामीले कम्युनिष्ट पार्टीलाई भन्दा कांग्रेशलाई धेरै प्रभावित गर्ने थियो ।पछिल्ला डेढ दशकमा नेपालको राजनीति मूलतः सत्ता केन्द्रित रह्यो। सत्ता एउटा म्युजिकल चेयर जस्तो बन्यो—कहिले देउवा कहिले ओली कहिले प्रचण्ड प्रधानमन्त्री बन्ने र फेरि सत्ता फेरिने क्रम चलिरह्यो तर जनताको जीवनस्तर परिवर्तन गर्ने संरचनात्मक सुधारहरू भने देखिएनन्। विकासलाई पनि संकुचित रूपमा बुझियो, केही सडक, केही पुल, केही भवन। तर आधुनिक समाजमा विकास केवल भौतिक पूर्वाधार होइन । विकास भनेको रोजगारीका अवसर, गुणस्तरीय शिक्षा र स्वास्थ्यमा पहुँच, नागरिकको सम्मान, स्वतन्त्रता, मानव अधिकार, सामाजिक न्याय र आर्थिक अवसरहरूको समान वितरण पनि हो। यी प्रश्नहरूमा राज्य र दलहरूले अपेक्षित गम्भीरता देखाएनन्।यसैबीच अर्को समस्या अझ गम्भीर रूपमा बढ्दै गयो, राजनीतिक नैतिकताको पतन। जनतामा व्यापक रूपमा फैलिएको धारणा के बन्यो भने राजनीतिक दलहरू विचार र आदर्शका संस्था होइनन्, बरु सीमित व्यक्तिहरूको नियन्त्रणमा रहेका कम्पनीजस्ता संरचना हुन्। चुनावी टिकटहरू पैसामा किनबेच हुने, स्थानीय तहका उम्मेदवारी लाखौँ रुपैयाँमा बिक्री हुने, राजनीतिक नियुक्तिहरू आर्थिक प्रभावमा हुने, राजदूतजस्ता पदहरू पनि सौदाबाजीको विषय बन्ने यस्ता अभ्यासहरूले दलहरूको नैतिक विश्वसनीयता क्रमशः क्षय गरायो। जनताले के देखे भने लोकतन्त्रको नाममा सत्ता सञ्चालन भइरहेको छ, तर लोकतन्त्रको आत्मा कमजोर हुँदै गइरहेको छ। यसका सबैभन्दा ठूलो पीडित नेपाली युवाहरू भए। लाखौँ युवाहरूले देशभित्र अवसर नपाएर विदेश जानुपर्ने बाध्यता भोगे। रोजगारीको अधिकार, सम्मानजनक जीवनको अवसर, सिर्जनात्मक सम्भावनाहरू—यी सबै कुरा क्रमशः कमजोर हुँदै गए। जब युवाहरूको भविष्य असुरक्षित हुन्छ, तब राजनीतिक प्रणालीप्रति उनीहरूको विश्वास पनि कमजोर हुन्छ। यही कारणले जनतामा पुराना दलहरूप्रति गहिरो निराशा जन्मियो र विकल्पको खोजी तीव्र भयो।यही मनोविज्ञानको पृष्ठभूमिमा अहिलेको चुनाव सम्पन्न भयो। यो चुनाव केवल दलहरूबीचको प्रतिस्पर्धा मात्र थिएन, यो जनताको मनमा जमेको आक्रोश र निराशाको अभिव्यक्ति पनि थियो। जनताले कुनै व्यक्तिको योग्यता वा घोषणापत्रको सूक्ष्म अध्ययन गरेर भोट हालेका थिएनन्, उनीहरूको मनमा एउटा स्पष्ट भावना थियो, पुराना राजनीतिक संरचनालाई एकपटक चुनौती दिनु।यस अवस्थामा गगन थापाको व्यक्तिगत भूमिका कति थियो भन्ने प्रश्न उठ्छ। वस्तुगत रूपमा हेर्ने हो भने उनी विशेष अधिवेशनबाट भर्खरै सभापति बनेका थिए। नेतृत्व सम्हालेको केही समयमै चुनावको सामना गर्नुपर्यो। एउटा विशाल ऐतिहासिक संगठनलाई रूपान्तरण गर्न समय, संरचना र तयारी आवश्यक हुन्छ। एक महिनाको अवधिमा यस्तो परिवर्तन सम्भव हुँदैन। त्यसैले अहिलेको परिणामलाई उनको व्यक्तिगत असफलता भनेर निष्कर्ष निकाल्नु न्यायोचित हुँदैन। तर नेतृत्वको अर्थ आत्मालोचना गर्न सक्ने क्षमता पनि हो। केही रणनीतिक कमजोरीहरू अवश्य देखिए। देशव्यापी वैज्ञानिक सर्वेक्षण हुन सकेन। चुनावअघि संगठनको वास्तविक अवस्था, जनमत, र उम्मेदवारहरूको सम्भावना बुझ्न व्यवस्थित अध्ययन आवश्यक थियो। सञ्चार रणनीतिमा पनि परिवर्तन आवश्यक थियो। ठूला मिडियामा अन्तर्वार्ता दिनु महत्त्वपूर्ण भए पनि आजको युगमा साना मिडिया, स्थानीय प्लेटफर्म र सामाजिक सञ्जाल जनमत निर्माणका शक्तिशाली माध्यम बनेका छन्। जनतालाई लामो व्याख्यान होइन, छोटा, स्पष्ट र प्रभावकारी सन्देश चाहिएको थियो तर यी कमजोरीहरू सुधार्न सकिने प्रकारका हुन्। यी कारणले नेतृत्व नै छोड्नु पर्ने अवस्था होइन। बरु अहिलेको क्षण गगन थापाका लागि ऐतिहासिक जिम्मेवारीको सुरुवात हो, नेपाली कांग्रेसलाई फेरि एउटा वास्तविक लोकतान्त्रिक संगठनमा रूपान्तरण गर्ने जिम्मेवारी ।इतिहासले हामीलाई एउटा महत्वपूर्ण पाठ सिकाउँछ, महान् संस्थाहरू धेरैपटक पराजित भएका छन्, तर तिनीहरूले हार मानेका छैनन्। दोस्रो विश्वयुद्धपछि जर्मनी पूर्ण रूपमा ध्वस्त भएको थियो, शहरहरू भग्नावशेषमा परिणत भएका थिए। तर केही दशकभित्रै त्यही देश विश्वको सबैभन्दा शक्तिशाली अर्थतन्त्रहरूमध्ये एक बन्यो। जापानको हिरोसिमा र नागशाकीमा भएको एटोमिक आक्रमण जस्ता विनाशकारी घटना भए, तर त्यसपछि त्यही देश प्रविधि र अनुशासनको प्रतीक बन्यो। राजनीतिक इतिहासमा पनि यस्ता उदाहरण धेरै छन्प, राजयले आन्दोलनहरू समाप्त गरेका छैनन्, बरु कहिलेकाहीँ तिनै पराजयहरूले नयाँ ऊर्जा जन्माएका छन्।नेपाली कांग्रेसको आफ्नै इतिहास पनि यही कुरा भन्छ। राणा शासनविरुद्धको संघर्षदेखि लोकतन्त्रको पुनर्स्थापनासम्म, यो पार्टीले धेरै कठिनाइ र पराजयहरू सामना गरेको छ तर हरेक पटक पुनः उठेको छ किनभने यसको आधार केवल सत्ता होइन एउटा ऐतिहासिक आन्दोलन हो। आज फेरि त्यही मोड आएको छ। यदि कांग्रेसले आफूलाई बन्द कोठरीबाट बाहिर ल्यायो, नयाँ पुस्ताका लागि ढोका खोल्यो, योग्यता र इमानदारीलाई प्राथमिकता दियो, र संगठनलाई खुला तथा पारदर्शी बनायो भने यो पार्टी पुनः विश्वासको केन्द्र बन्न सक्छ। हरेक अधिवेशनअघि नयाँ युवाहरूलाई छनोट गरेर नेतृत्वमा ल्याउने प्रणाली विकास गर्न सकिन्छ। प्रतिस्पर्धा, सार्वजनिक बहस, सामाजिक योगदान, यी आधारमा नयाँ पुस्तालाई अघि ल्याउने परम्परा बसाल्न सकिन्छ।कांग्रेस कमजोर हुनु केवल एउटा दलको समस्या होइन, यो नेपालको लोकतान्त्रिक संरचनाको समस्या पनि हो। लोकतन्त्र बलियो हुन सशक्त विचार, सशक्त संगठन र सशक्त विपक्ष आवश्यक हुन्छ। त्यसैले कांग्रेसका कार्यकर्ता र युवाहरूले निराश हुनु पर्ने कारण छैन। अहिलेको समय भाग्ने होइन, पुनः संगठित भएर संघर्ष गर्ने समय हो। राजनीतिमा सबैभन्दा ठूलो शक्ति सत्ता होइन, जनताको विश्वास हो। त्यो विश्वास एक दिनमा हराएको होइन, त्यसैले एक दिनमै फर्किने पनि होइन। तर इमानदार आत्मालोचना, खुला संगठन, र जनताको वास्तविक समस्यासँग जोडिएको राजनीति गरेमा त्यो विश्वास पुनः प्राप्त गर्न सकिन्छ। आज कांग्रेसले भन्नुपर्ने वाक्य केवल एउटा छ, हारले यात्रा रोक्दैन, यदि यात्रुमा साहस बाँकी छ भने । यो अन्त्य होइन। यो पुनर्जागरणको सुरुवात हो।



























