
पुण्य प्रसाई सासंद विश्वराज पोख्रेलद्वारा प्रधानाध्यापकमाथि गरिएको व्यवहार कुनै सामान्य आक्रोश होइन, यो गहिरो रूपमा जरा गाडेको ठालूवादी मानसिकता Feudal Arrogance को प्रत्यक्ष उदाहरण मात्र हो। म आउँदा तपाईं निस्कनुपर्छ, तपाईं कर्मचारी हो, म नम्बर १ माननीय हुँ जस्ता अभिव्यक्तिहरू लोकतान्त्रिक मूल्य होइनन्, यी त शक्ति र पदको मदमा डुबेको सामन्ती सोचका झल्काहरू हुन्।लोकतन्त्रमा सांसद माननीय भनिन्छ तर यस शब्दको अर्थ सम्मान माग्ने अधिकार होइन त्यो त जिम्मेवारी बोक्ने दायित्व हो। जनताको मतले जितेर आएको व्यक्ति Public Servant हो, Public Master होइन। चुनावको बेला जनताको ढोकामा गएर हात जोड्ने, खुट्टा ढोग्ने तर जितेपछि त्यही जनतालाई झुक्न र ढोग्न बाध्य बनाउने मानसिकता लोकतन्त्र होइन यो त नयाँ रूपको सामन्तवाद Neo Feudalism हो।यहाँ प्रश्न केवल एउटा व्यक्तिको व्यवहारसँग सीमित छैन, यसले नेपालको राजनीतिक र प्रशासनिक संस्कृतिको गहिरो समस्या उजागर गर्छ। विश्वराज पोख्र्रेल को यात्रालाई हेर्दा योग्यता, विधि र नैतिकताभन्दा पनि राजनीतिक पहुँच र चाकरीले कसरी पदोन्नति सम्भव बनायो भन्ने प्रष्ट देखिन्छ। प्रहरी सेवामा इन्स्पेक्टरदेखि एसपीसम्मको आन्तरिक मूल्याङ्कनमा पछाडि पर्ने एक अधिकृत, कसरी डीआईजी र पछि एआईजीसम्म पुग्छ? यसको उत्तर सीधा छ, राजनीतिक संरक्षण। यिनको एमालेका नेताहरुसँगको निकटता र दलगत प्रभावका कारण अन्य योग्य र सिनियर अधिकृतहरूलाई पन्छाउँदै उनलाई अगाडि बढाइयो। कहाँसम्म भने दरबन्दी नै थपेर एकल रूपमा बढुवा गरिनु, प्रणालीमाथिको गम्भीर प्रहार थियो।यस्तो कृत्रिम रूपमा निर्माण गरिएको वरिष्ठता अन्ततः संगठनको क्षमतामाथि नै बोझ बन्छ। प्रहरी जस्तो संवेदनशील संस्थामा जब योग्यता होइन पहुँच मापदण्ड बन्छ तब त्यसको असर राष्ट्रिय सुरक्षासम्म पुग्छ। आन्दोलनका बेला देखिएको कमजोरी पनि त्यही दीर्घकालीन विकृतिको परिणाम थियो। यही पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका व्यक्तिले आज एक विद्यालयका प्रधानाध्यापकलाई सार्वजनिक रूपमा अपमान गर्नु कुनै आकस्मिक घटना होइन। त्यो शक्ति र अहंकारको निरन्तरता हो। शिक्षकजस्तो सम्मानित पेशामाथि गरिएको यस्तो व्यवहारले देखाउँछ, पदले होइन, सोचले व्यक्ति कति सानो हुन्छ?यस घटनाले सबै दललाई आत्मालोचना गर्न बाध्य बनाउँछ। यदि विगतमा गलत प्रक्रियाबाट कसैलाई माथि पुर्याइएको छ र त्यस किसिमका धुर्तहरुलाई नयाँहरुले पनि काँध हालेको हो भने त्यसको जिम्मेवारी लिनैपर्छ। नत्र यस्ता अयोग्य नेतृत्वले संस्थाहरू मात्र होइन, समाजको नैतिक आधार पनि कमजोर बनाइरहनेछन्। बन्दुक समात्ने संस्थामा शक्ति हुन्छ यदि त्यो शक्तिलाई विवेकले नियन्त्रण गरेन भने त्यसको परिणाम यस्तै हुन्छ, अपमान, दमन र अहंकार। नेपालमा सुरक्षा निकायलाई अझै पनि एउटा महत्वपूर्ण पाठ सिकाउन आवश्यक छ, शक्ति जनताको सुरक्षा गर्नका लागि हो, जनतालाई झुकाउन वा दमनका लागि होइन।नेपालको लोकतन्त्र केवल संविधान र चुनावले मात्र चल्दैन, यसको वास्तविक आधार भनेको व्यवहार, संस्कार र परस्पर सम्मान हो। तर पछिल्लो समय देखिएका केही घटनाले यो आधार कति कमजोर हुँदै गइरहेको छ भन्ने प्रश्न उठाइरहेका छन्। खिजिदेम्बा गाउँपालिकास्थित चण्डेश्वरी माध्यमिक विद्यालयमा घटेको प्रसङ्ग, जहाँ विश्वराज पोख्रेलले प्रधानाध्यापकप्रति गरेको व्यवहार सार्वजनिक रूपमा चर्चामा आएको छ, त्यही चिन्ताको एउटा उदाहरण बनेको छ।
एउटा जनप्रतिनिधिबाट अपेक्षा गरिने कुरा अधिकारको प्रदर्शन होइन, जिम्मेवारीको अभ्यास हो तर म आउँदा निस्कनुपर्छ, माननीयलाई रिसिभ गर्नुपर्छ जस्ता अभिव्यक्तिहरूले लोकतान्त्रिक चेतनाभन्दा बढी पद र शक्तिप्रतिको अहंकार झल्काउँछन्। यस्तो सोचले जनप्रतिनिधि र नागरिकबीचको सम्बन्धलाई सन्तुलित राख्ने होइन, बरु त्यसलाई कमजोर बनाउने खतरा बढाउँछ।विद्यालय कुनै सामान्य प्रशासनिक कार्यालय होइन। त्यो समाजको भविष्य निर्माण हुने स्थल हो, र त्यहाँ काम गर्ने शिक्षकहरू केवल कर्मचारी होइनन्—उनीहरू मूल्य, अनुशासन र ज्ञानका संवाहक हुन्। त्यसैले शिक्षकप्रति गरिने व्यवहारले समग्र समाजले शिक्षालाई कति महत्व दिन्छ भन्ने कुरा प्रतिबिम्बित गर्छ। यदि शिक्षक नै अपमानित हुन्छन् भने, शिक्षा सुधारका कुरा केवल नारा बन्न पुग्छन्।लोकतन्त्रमा जनप्रतिनिधि माननीय कहलिन्छन्, तर त्यो शब्द सम्मान माग्ने औजार होइन, जनताको विश्वास बोकेको जिम्मेवारी हो। जनताको मतबाट निर्वाचित व्यक्ति अन्ततः सार्वजनिक सेवक नै हो। त्यहीँबाट विनम्रता र उत्तरदायित्वको अभ्यास सुरु हुनुपर्छ। अन्यथा, लोकतन्त्रको नाममा पुरानै ठालूवादी सोच दोहोरिने जोखिम रहन्छ। यो घटनामा सबैभन्दा महत्वपूर्ण कुरा माफीको स्वरूप पनि हो। केवल विज्ञप्ति निकालेर खेद प्रकट गर्नु पर्याप्त हुँदैन। सार्वजनिक रूपमा भएको व्यवहारको समाधान पनि सार्वजनिक रूपमा नै खोजिनुपर्छ। सम्बन्धित स्थानमै पुगेर, सम्बन्धित व्यक्तिहरूसँग खुलेर गल्ती स्वीकार गर्नु नै परिपक्व नेतृत्वको संकेत हो।नेपालजस्तो समाजमा, जहाँ अझै पनि शक्ति र पदप्रति आकर्षण बलियो छ, त्यहाँ विनम्रता र सम्मानको अभ्यास झन् आवश्यक हुन्छ। विशेष गरी शक्ति प्रयोग गर्ने पृष्ठभूमिबाट आएका व्यक्तिहरूले विवेक र संयमलाई प्राथमिकता दिन सके मात्र सन्तुलन कायम रहन्छ। नत्र शक्ति आफैमा समस्या बन्न सक्छ।र, अन्त्यमा यो घटना कुनै एक व्यक्तिको आलोचनाभन्दा ठूलो सन्देश बोकेको छ। यसले हामीलाई सम्झाउँछ कि शिक्षकको सम्मान बिना शिक्षा बलियो हुँदैन, र नागरिकप्रतिको सम्मान बिना लोकतन्त्र सबल हुँदैन। त्यसैले प्रश्न केवल एउटा व्यवहारको होइन यो हाम्रो समग्र राजनीतिक संस्कार कता जाँदैछ भन्ने हो।
#punyaprasai



























