काठमाडौं । मुस्ताङमा दुर्घटना भएको तारा एयर जहाजको 'ब्ल्याक बक्स' अझैसम्म भेटिएको छैन । खोजी कार्य भने जारी छ ।दुर्घटनास्थल नजिक कोबाङ पुगेका नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्ण भने ककपिट भ्वाइस रेकर्डर 'सीभीआर' (ब्ल्याक बक्स)को खोजी कार्य जारी रहेको डिकुरालाई जानकारी दिए ।'सीभीआरको फोटो खिचेर रेस्क्यु टोलीलाई पठाइएको छ, रेस्क्यु टोलीले फोटोको आधारमा खोजी कार्य जारी राख्नु भएको छ,' कर्णले लोकान्तरसँग भने, 'प्राधिकरणका प्राविधिक टोली दुर्घटना भएको स्थानसम्म पुग्न नसकेको कारण सीभीआर खोज्न रेस्क्यु टोलीलाई समस्या भएको छ । सीभीआर भेटिन्छ नै।'उनका अनुसार हालसम्म दुर्घटनास्थलबाट कुल १० जनाको शव कोबाङमा ल्याइसकिएको छ । बाँकी शव पनि संकलन गर्ने कार्य जारी रहेको उनले बताए । उनले हालसम्म आँखाले कुल १७ जनाको शव देखिएकोमा एउटा शव भने खोचमा जहाजमा च्यापिएको हुनाले बाहिर निकाल्न नसकिएको बताए ।आईतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ को सानीसरे भीरमा दुर्घटनाग्रस्त भएको थियो । सुरक्षाकर्मीले आज मात्रै फेला पारेका हुन् ।जहाजमा १३ जना नेपाली यात्रु, ६ जना विदेशी यात्रु र ३ जना चालक दल सहित २२ जना सवार थिए।