
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव ले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।प्रदेशसभाको बैठक बिहान ११ बजे बस्ने तय भएको छ, जहाँ मुख्यमन्त्री यादवले विश्वासको मतका लागि प्रस्ताव पेश गर्नेछन् ।मुख्यमन्त्री यादव नेपाली कांग्रेसको नेतृत्वमा पाँच दलको समर्थनमा सरकार गठन गरेर नेतृत्वमा आएका थिए । तर, जनमत पार्टी ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने अवस्था बनेको हो ।जनमत पार्टीका संसदीय दलका नेता चन्दनकुमार सिंह ले समर्थन फिर्ता लिएसँगै मधेस प्रदेशको राजनीतिक समीकरण फेरिएको छ ।यद्यपि, नेपाली कांग्रेस, जसपा नेपाल, नेकपा तथा लोसपा बीच गठबन्धनलाई निरन्तरता दिने सहमति भएको छ ।मधेस प्रदेशसभामा कांग्रेसका २२, जसपा नेपालका १७, नेकपाका १५ र लोसपाका ८ सांसद रहेका छन् । चार दलको कुल संख्या ६२ पुग्ने भएकाले मुख्यमन्त्री यादवले सहज रूपमा विश्वासको मत पाउने सम्भावना बलियो देखिएको छ ।



























