
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित पशुपति सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडका १४० जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ।
समितिले उपलब्ध ऋण विवरणका आधारमा नामावली सार्वजनिक गरिएको जनाएको छ। साथै, साविकमै ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका व्यक्तिहरूलाई आवश्यक प्रमाणसहित समितिको कार्यालयमा उपस्थित हुन आग्रह गरिएको छ।
त्यस्तै, ऋण तिर्न बाँकी रहेका ऋणीहरूलाई तत्काल समितिको कार्यालयमा सम्पर्क गरी बक्यौता रकम भुक्तानी गर्न सूचित गरिएको छ। अन्यथा प्रचलित कानुनअनुसार असुली प्रक्रिया अघि बढाइने समितिले जनाएको छ।
बचतकर्ताको रकम फिर्ता गराउने तथा उनीहरूको हित संरक्षण गर्ने उद्देश्यले ऋणीहरूको विवरण सार्वजनिक गरिएको समितिको भनाइ छ। समितिले सम्बन्धित सबै पक्षलाई आवश्यक सहयोग र समन्वयका लागि अनुरोध समेत गरेको छ।



























