
काठमाडौं । आज (शनिबार) विश्व जनसंख्या दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ नेपालसहित विश्वभर मनाइँदै छ। प्रत्येक वर्ष जुलाई ११ मा मनाइने यो दिवसले जनसंख्या, स्वास्थ्य, शिक्षा, लैङ्गिक समानता तथा दिगो विकाससँग सम्बन्धित विषयमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राख्छ।सन् १९८७ को जुलाई ११ मा विश्वको जनसंख्या करिब पाँच अर्ब पुगेको अवसरमा आयोजित पपुलेशन समिटको निर्णयअनुसार यो दिवस मनाउन थालिएको हो।संयुक्त राष्ट्रसंघीय जनसंख्या प्रतिवेदनअनुसार मानव सभ्यताको प्रारम्भदेखि विश्वको जनसंख्या एक अर्ब पुग्न करिब तीन लाख वर्ष लागेको थियो। तर त्यसपछि जनसंख्या वृद्धि तीव्र बन्दै गएको छ र हाल विश्वको जनसंख्या आठ अर्ब नाघिसकेको छ।नेपालमा पनि विश्व जनसंख्या दिवसको अवसरमा सरकारी निकाय, स्वास्थ्य संस्था तथा विभिन्न संघ–संस्थाले जनसंख्या व्यवस्थापन, प्रजनन स्वास्थ्य, परिवार नियोजन र दिगो विकासका विषयमा केन्द्रित विविध कार्यक्रम आयोजना गर्दै आएका छन्।



























