
काठमाडौं । उचित मूल्य, बजारको सुनिश्चितता र किसानमैत्री कृषि नीति लागू गर्न माग गर्दै तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा टमाटर सडकमा फालेर विरोध प्रदर्शन गरेका छन्।सरकारले किसानलाई पर्याप्त अनुदान, उत्पादनको उचित मूल्य र बजार व्यवस्थापन गर्न नसकेको तथा आयातमुखी नीतिका कारण स्वदेशी किसान मारमा परेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।प्रदर्शनका क्रममा किसानहरूले आफूहरूले उत्पादन गरेको टमाटर बिक्री हुन नसकेको, उत्पादन लागतसमेत उठाउन कठिन भएको र सरकार किसानका समस्याप्रति उदासीन बनेको आरोप लगाए। विरोधस्वरूप उनीहरूले टमाटर सडकमा फाल्दै सरकारको कृषि नीतिप्रति असन्तुष्टि जनाएका थिए।आन्दोलनरत किसानहरूले कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य निर्धारण, उत्पादनमा अनुदान वृद्धि, मल–बीउको सहज उपलब्धता, प्रभावकारी बजार व्यवस्थापन तथा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति तत्काल कार्यान्वयन गर्न माग गरेका छन्।उनीहरूले सस्तो आयातित तरकारीका कारण नेपाली किसान प्रतिस्पर्धामा टिक्न नसकेको भन्दै स्वदेशी कृषि उत्पादनको संरक्षण र प्रवर्द्धनका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएका छन्।



























