
काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतका तीनवटा समितिको बैठक आज बस्दैछ। बैठकहरूमा ऐन कार्यान्वयनको प्रभावकारिता, प्रदेशस्तरीय अनुगमनको समीक्षा तथा राष्ट्रिय महिला आयोगसम्बन्धी अध्ययन प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ।दिउँसो २:१५ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा 'ऐन कार्यान्वयन मापन र विधायिकी अन्तरसम्बन्ध' विषयमा छलफल गरिनेछ।यस्तै, दिउँसो १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा मधेश र बागमती प्रदेशअन्तर्गतका जिल्लामा गरिएको अनुगमनको समीक्षा गरिने समितिले जनाएको छ।त्यसैगरी, बिहान ११:३० बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा संसदीय अध्ययन तथा अनुसन्धान महाशाखाले तयार पारेको 'राष्ट्रिय महिला आयोगको कार्य प्रभावकारिता सम्बन्धी अध्ययन' प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ।



























