
काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको महाशाखाले जनाएको छ ।हाल देशभर सामान्यतया बदली रहेको छ । कोशी र बागमती प्रदेशका केही स्थानमा तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ । मधेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा समेत मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ । हिमाली तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ भने हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्नेछ ।बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थान तथा मधेश र कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।देशका पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।त्यस्तै, आज राति पनि देशभर सामान्यतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ ।लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागका केही स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ ।रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।




























